काठमाडौं,५ पुस । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्रीको आक्रामक ब्याटिङको मद्दतमा राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध १० विकेटको रवाफिलो जित हात पारेको छ ।
कर्णालीले दिएको ३४ रनको सामान्य लक्ष्य कोशीले मात्र ३.१ ओभरमा बिना कुनै क्षति पूरा गर्यो । कोशीका लागि रुविनाले १७ बलमा ६ चौका हिर्काउँदै २५ रन जोड्दा काजल श्रेष्ठले ३ बलमा १ चौकासहित ५ रन जोडिन् ।
यसअघि माथिल्लो मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णालीले १६ ओभरमा अलआउट हुँदै ३३ रनमात्र जोड् सक्यो । कर्णालीका ४ खेलाडीले कुनैपनि रननै जोड्न सकेनन् ।
कर्णालीका लागि कप्तान किरण कुँवरले बनाएको ९ रननै सर्वाधिक रह्यो । त्यस्तै विना थापा र राशी खड्काले समान ८ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले रन जोड्न सकेनन् । यमुना थारु, अन्जु गुरुङ, विमला बुढाथोकी र गौरी शून्य रनमै आउट भएपछि कर्णालीको ब्याटिङ धराशायी बनेको थियो । बलिङतर्फ कोशीकी अप्सरी बेगमले तीन तथा एलिसा खाडियाले २ विकेट लिए ।