काठमाडौं,६ पुस । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । गएराती हिरासतमा रहेका स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको थियो ।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपलाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ।
सोही घटनापश्चात आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ । तस्बिर स्रोत- सामाजिक सञ्जाल