काठमाडौं, ६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । पछिल्लो समय आफ्नो अभिव्यक्तिका कारण विवादमा मुछिएका मन्त्री किरातीको राजीनामा मागिएको छ । तर, मन्त्री किरातीले भने आफूले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई राजीनामा माग्नेहरुले मन्त्री नबनाएको र बर्खास्त पनि गर्न नसक्ने भन्दै किन राजीनामा दिनु ? भन्दै प्रश्न गरे ।
उनले भने,‘उनीहरुले बर्खास्त गर्ने होईन नि त ? उनीहरुले मन्त्री बनाएको पनि होईन । उनीहरुलाई बर्खास्त गर्ने अधिकार पनि छैन् । दिनुपर्ने किन मैले राजीनामा ?’ उनले आफूले क्रिश्चियन धर्मको प्रचार नगरेको पनि जिकिर गरे । उनले भने,‘मैले प्रचार गरेको होईन, मैले नेपालको संविधान २०७२ को व्याख्या गरेको हो । नेपाल चाहीँ साझा फूलबारी हो । त्यो फूलबारीमा फुल्ने विभिन्न धर्म, संस्कृति चाहीँ फूल हो । ती फूलहरु सबै फुले भनेमात्रै फूलबारीको शोभा हुन्छ । सुन्दरता हुन्छ ।’ धार्मिक कार्यक्रममा राजनीतिक भाषण गर्न मिल्छ भन्ने पत्रकार धमलाको तिखो प्रश्नमा उनले तुरुन्तै जवाफ फर्काए–‘राजनीति गर्ने मान्छेले के गर्छ त ? पूराण पढेर हिँड्छ ?’