Logo

गाजामा अमेरिकी समर्थनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदानको तयारी



संयुक्त राष्ट्रसङ्घ, ६ पुस । इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतिक्षित प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार मतदान गर्ने तयारी गरेको छ ।

यो पछिल्लो प्रस्तावमा ‘तत्काल सुरक्षित र निर्बाध मानवीय पहुँचलाई अनुमति दिन र शत्रुताको दिगो अन्त्यका लागि वातावरण सिर्जना गर्न तत्काल कदम चाल्न’ आह्वान गरिएको छ । यसले युद्धको तत्काल अन्त्यको माग गर्दैन ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले बिहीबार साँझ पत्रकारसँग भने, “यदि प्रस्ताव यथास्थितिमा प्रस्तुत गरियो भने हामी यसलाई समर्थन गर्न सक्छौं ।” उनले प्रस्तावको मस्यौदालाई कमजोर बनाइएको भन्ने कुरा अस्वीकार गर्दै यो ‘निकै मजबुत’ र ‘अरब समूहको पूर्ण समर्थन’ भएको बताएका छन् ।

म्यानहटनस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा कुटनीतिक खिचातानीका कारण यस हप्ता धेरै पटक मतदान स्थगित भएको छ । गाजाको बिग्रँदो अवस्था र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको पृष्ठभूमिमा आएको छ ।इन्टरनेसनल क्राइसिस समूहका विश्लेषक रिचार्ड गोवनले भने, “यो भाषाको केही अंश अलिक अर्थहीन छ ।”

उनले भने, “परिषद्का अन्य सदस्यहरूले सम्झौताको लागि कमजोर प्रस्ताव ल्याइएको बताएका छन् । सम्झौता भनेको आफैमा दुई पक्षको मिलनविन्दु हो । यसमा बढी चिन्ता गर्नु त बेकार छ तर सम्झौताले प्रभावित समूहको चासोलाई कुनै कुनाबाट सम्बोधन गर्नुपर्छ ।”

उहाँले विशेष गरी भिटो प्रयोग गर्ने रूसले युद्धविराम आवश्यक छ भन्ने उनीहरूको लामो समयदेखिको तर्कविपरीत मस्यौदालाई समर्थन गर्न सक्छन् कि सक्दैनन् भन्ने निर्णय गर्नुपर्ने बताए ।

एएफपीले प्राप्त गरेको प्रस्तावित मस्यौदा पत्रअनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले प्रस्तावलाई प्रायोजन गरिरहेको छ र सम्झौता सुरक्षित गर्न धेरै प्रमुख क्षेत्रहरूमा संशोधन गरिएको छ ।

यसले सबै पक्षहरूलाई मानवीय सहायताको प्रावधानको लागिर सम्पूर्ण गाजा पट्टी र सीमा पार सहितका सीमा क्षेत्रका मार्गहरू खोल्न अनुमति दिन र सबैको प्रयोगलाई सहजीकरण गर्न माग गर्दछ ।

इजरायलले बिहीबार नयाँ खोलिएको सहायता नाकामा बम बारी गरेको हमासका अधिकारीहरूले बताएका छन् ।थोमस–ग्रिनफिल्डले भने, “हरेक दिन हामी जमीनमा मानवीय सहायता बढाउनेतर्फ काम गरिरहेका छौं ।”

१५ सदस्यीय परिषद्का सदस्यहरूले युद्धको सुरुवातदेखि नै यस संस्थाले कुनै कदम नचालेको भन्दै आलोचना भइरहेका बेला प्रस्तावको साझा आधार खोज्न केही दिनदेखि संघर्ष गरिरहेका छन् ।

आफ्नो सहयोगी संयुक्त राज्य अमेरिकासहित इजरायलले ‘युद्धविराम’ शब्दको विरोध गरेको छ र वासिङ्टनले अन्य सदस्यहरूको बहुमतद्वारा समर्थित प्रस्तावहरू असफल पार्न दुई पटक आफ्नो भिटो प्रयोग गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा युद्धविराम नहुने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको खाद्यान्न अभाव अनुगमन कार्यक्रमले ‘युद्धग्रस्त गाजाका प्रत्येक व्यक्तिले आगामी छ हप्तामा उच्च स्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्नुपर्ने’ चेतावनी दिएपछि कूटनीतिक छलफल जारी भएको हो ।

हमासले अक्टोबर ७ मा इजरायलमा प्रवेश गरी करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्याङ्कमा आधारित एएफपीले जनाएको छ ।

त्यपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot