Logo

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग



चितवन, ६ पुस । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दाले नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार पाँच सय उद्योग छन् । ती उद्योगमध्ये एक हजार दुई सय लघु उद्योग, दुई सय मझौला र एक सय ठूला उद्योग छन् । ती उद्योगले दैनिक एक हजारदेखि एक लाख जोरसम्म जुत्ता उत्पादन गर्दछन् ।

यी उद्योगमा ३० अर्ब लगानी रहेको र त्योमध्ये ६० प्रतिशत बैंक ऋण रहेको उनले जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार क्षमता धेरै भए पनि झण्डै ४० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । हाल नेपालको बजारमा वार्षिक १० करोड जोर जुत्ता माग रहेको अनुमान छ । नेपाली बजार ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी जुत्ताले ओगटेको छ ।

भूकम्पअघि वार्षिक तीन करोड हाराहारी जोर जुत्ता निर्यात हुँदै आएकोमा अहिले ६५ लाख हाराहारीमा झरेको छ । सबैभन्दा बढी भारतमा र बाँकी १८ देशमा नेपाली जुत्ता जाने गरेको उनले बताए । एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेका अनुसार सरकारले नीति कार्यान्वयन नगर्दा समस्या आएको बताए ।

चोरीपैठारी हुने गरेको, न्यून बिजीकरणको समस्या हुने गरेको, दक्ष कामदारको अभाव, बैंकको ब्याज महँगो हुनुजस्ता कारण नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको हो । कच्चा पदार्थको भन्सारदर १० प्रतिशतबाट २० प्रतिशत पु¥याइदा लागत बढेको छ ।

उनको भनाइमा राजनीतिक अस्थिरताका कारण उच्च तहमा रहेका कर्मचारी छोटो समयमा परिवर्तन हुने गरेकाले आफ्नो समस्याको सुनुवाइ हुन नसकेको हो । यो व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्ति नेपाली नहुँदा आधा विदेशी कामदार छन् । पूर्ण क्षमतामा उद्योग चल्न सकेमा एक लाख २५ हजारले रोजगारी पाउने न्यौपानेले बताए ।

एसोसिएसनका पूर्वअध्यक्ष कृष्णकुमार फुँयालका अनुसार व्यवसायी सङ्गठित भएर बजार प्रवद्र्धन गर्दै आएका छन् । नेपालका प्रमुख सहरमा धेरै उद्योगका सोरुम एकै ठाउँमा सञ्चालनमा ल्याउने गरेका छन् । गत वैशाखदेखि सोरुम सञ्चालन गर्न थालिएको हो । हालसम्म बुटवल, पोखरा, जनकपुर, काठमाडौँ, ललितपुरको सातदोबाटो र नारायणगढमा सोरुम सञ्चालनमा ल्याइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्