Logo

प्रधानमन्त्रीको निर्देशनपछि जगदम्बा स्टिलसहित विद्युत महशुल नतिर्ने चार उद्योगको लाईन काटियो



काठमाडौं, ७ पुस । नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने चार उद्योगहरुको लाईन काटेको छ । प्राधिकरणले हिजो (शुक्रबार) डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार यी चार उद्योगको कूल वक्यौता ८ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । पहशुल तिर्न पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि लाइन काटिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुस ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काट्न निर्देशन दिएका थिए ।

“विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्। डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्नेको लाइन तुरून्त काटौं। ठूलाबाट सुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाउँ,”– प्रधानमन्त्री प्रचण्डले निर्देशन दिँदै भनेका थिए ।

प्राधिकरणले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा चार उद्योग विद्युत लाईन काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot