काठमाडौं,८ पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त २ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरु कृष्णा केसी र सरोज थापालाई शपथ ग्रहण गराएका हुन्। केसीले सहरी र थापाले उद्योग तथा पर्यटन मन्त्रीको शपथ लिएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्रीले एक मन्त्रालय अझै आफैंसँग राखेका छन्। उक्त मन्त्रालय कांग्रेसले लिने भए पनि मन्त्री पठाउन पार्टीभित्र कुरा नमिलेकोले उनले आफू मातहत नै राखेका छन्।
गत बैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले लामो रस्साकस्सीपछि २ मन्त्री थपेपनि सरकार भने अझैपनि अपूर्ण नै रहेको छ । नेपाली कांग्रेसभित्रको विवादले मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिन नसकेका हुन् ।
लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, कांग्रेसबाट राजु खनाल स्वास्थ्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सन्तोषकुमार पाण्डेय गृहमन्त्री, जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री छन् ।