काठमाडौं,९ पुस । राजधानीमा पुस ५ गतेबाट जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय महिला क्रिकेटमा समूह चरणका ४ खेल सम्पन्न भएका छन् ।
पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।
तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।
लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
४ खेलको समाप्ती हुँदासम्म विभागीय टिम एपीएफले शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदा चारमध्ये ३ खेल जितेका कोशी र सुदूरपश्चिम प्रदेश क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सुदूरपश्चिम साविक विजेतासमेत हो ।
यता ४ खेलमध्ये २ खेल जितेर ४ अंक जोडेको बागमती समूहको चौथो स्थानमा रहेको छ । २ खेल नै जितेको लुम्बिनी प्रदेश पाँचौ स्थानमा रहँदा एक खेलमा जित निकालेको गण्डकी र मधेश क्रमात छैटौ र सातौ स्थानमा रहेका छ । कर्णाली प्रदेश भने ४ खेलमा नै पराजय भोग्दै समूहको पुच्छरमा रहेको छ । गण्डकी, मधेश र कर्णालीको प्लेअप सम्भावना पनि लगभग सकिएको छ ।
मधेशले लगातार तीन खेलमा पराजय भोगेको मधेशले सोमबार गण्कीलाई हराउँदै तीन खेलको हारको श्रृंखला तोडेको छ । एपीएफले अब गण्डकी, बागमती र कर्णाली प्रदेशसँग खेल्न बाँकी रहँदा दोस्रो स्थानमा रहेको कोशीले गण्डकी, लुम्बिनी र सुदूरपश्चिमसँग खेल्न बाँकी रहेको छ । सुदूरले भने मधेश, कोशी र गण्डकीसँग खेल्न बाँकी रहेको छ । चौथो स्थानमा रहेको बागमतीले पनि लुम्बिनी, एपीएफ र कर्णालीसँग खेल्न बाँकी रहेको छ ।