काठमाडौं, पुस १० । आज मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरी पुन्हि । नेवार समुदायले आज यो पर्व धुमधामसँग मनाउँदैछन् ।
यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ ।
यःमरीलाई पञ्चतत्त्वको रुपमा मानिएको छ । यःमरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ ।
यस दिन पूर्वी पहाडी जिल्लाका किराँत समुदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।
दिवसका अवसरमा आज राजधानीमा लखनटोलबाट र्याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरू विभिन्न परम्परागत बाजा बजाउँदै गल्ली परिक्रमा गरिरहेका छन् । खसआर्य समुदायले पनि यस दिनमा कूल पूजा, देवाली पूजा गर्ने गरेका छन् ।