काठमाडौं,१० पुस । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले नेपालमा छुट्टै हिन्दू विश्वविद्यालय स्थापना गर्ने गरी काम अगाडि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सक्रियतामा नेपालमा सनातनदेखि मानिआएको हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको छ ।
पर्यटनमन्त्री किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताएका छन् । उनले आजमात्रै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुसँग यसबारेमा गम्भीर बैठकसमेत गरिरहेका छन् ।
यसअघि गत फागुनमा नै सरकारले नेपालको सभ्यता,सम्पदा,संस्कृति र दर्शनलाई समेटेर विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यक्ता अध्ययन समितिसमेत बनाएको थियो ।
डा.जगमान गुरुङको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रा डा.रामचन्द्र गौतम,प्रा.चेतनाथ गौतम र कमल ढकाल सदस्य रहेका छन् भने सदस्य सचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा रहेका थिए । तत्कालीन सदस्यसचिव रहेका खतिवडाको ठाँउमा हाल कार्यकारी निर्देशकको रुपमा लक्ष्मी पुन नियुक्त भएकी छन् । पुन र मन्त्री किराँतीको सक्रियतामा यो काम पुनः अगाडि बढ्न लागेको हो ।
मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास लिएर यो काम अगाडि बढाउन लागिएको बताएका छन् ।
सरकारले बनाउन लागेको हिन्दू विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन,अध्यापन हुनुका साथै शैक्षिक,धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ ।