Logo

सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहरुको साझा देश भएको बताएका छन् । उनले नेपाल भौगोलिक रुपमा सानो भएतापनि यहाँको विविधता, मनोरम प्राकृतिक सम्पदाहरु र सामाजिक बनोट विश्वमै नमूना रहेको पनि उल्लेख गरेका छन् । आज (मंगलबार) २०औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो। भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ। विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन् । यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरूबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन्। यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ। तिनीहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो। यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्