\काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन्। २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको बताए ।
प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि नेपालका अमूल्य निधि भएको बताए । उनले भने, “नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो । भौगोलिक रूपमा सानो भए पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदा र सामाजिक बनोट विश्वमै नमूना रहिआएको छ ।”
नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रुपमा लिएको प्रधानमन्त्री दाहालले बताए । “राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”, उनले भने ।
सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कार चल्दै आएकाले यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको विचार व्यक्त गरे । ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको उल्लेख गर्दै उनले यसै कुरालाई मनन गरी सरकार संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले काठमाडौँ महानगरपालिकाभित्रका ज्यापुले विभिन्न बाधा अड्चनका बाबजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्नाको प्रयासलाई सरकारले कदर गर्दै आएको बताए । उनले सरकारको सानो सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौँ उपत्यकाभित्रका ज्यापुलाई मात्र नभएर मोफसलमा बसोबास गर्दैआएका ज्यापु समेटेर बिसौँ राष्ट्रिय ज्यापु दिवस मनाएकामा बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत सरकारका तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाए । सरकारका तर्फबाट ज्यापु संस्कृति विकास कोषलाई सहयोग गर्ने उनले प्रतिबद्धता दिलाए ।
प्रधानमन्त्री दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको र अहिले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको उल्लेख गरे । उनले भने, “नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आएको छु । आगामी दिनमा समेत मेरो र नेपाल सरकारका तर्फबाट यहाँहरूलाई साथ तथा सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
राष्ट्रिय ज्यापु दिवसले नयाँ जोस, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुशीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने उनले शुभकामना दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेवारी भाषा, सम्पदा र संस्कृतिको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याए । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापु समुदायको संरक्षण, पुरातात्विक सम्पदाको जगेर्ना गर्ने कार्यमा महानगरले विशेष चासो दिएको उल्लेख गरे ।
कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह र राष्ट्रिय ज्यापु दिवस समारोहका संयोजक धनबहादुर महर्जनले ज्यापु संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन तथा परम्परागत गुठी खलहरुको संरक्षण गर्ने कार्यमा समन्वयका साथ अघि बढेको बताए । सो अवसरमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषण गरी सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्् उल्लेख गर्ने निर्णय गरेकामा प्रधानमन्त्री दाहाललाई कोषले दोसल्ला र कदरपत्रसहित सम्मान गरेको थियो । रासस