Logo

प्रचण्डलाई एमाले नेताको चूनौति : कुन काण्डमा एमाले मुछिएको छ ? कारबाही गरे भो त ?



काठमाडौं, १० पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद विशाल भट्टराईले प्रचण्ड सरकारको एक वर्ष असफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह सिर्जना गर्ने कुरा प्रधान हो, तर यो सरकारले उत्साह फैलाउन सकेन । एक वर्षको दौरानमा जनतामा निराशा फैलियो । एक जना उटपट्याङ मान्छेले म पूरानो व्यवस्था फर्काउँछु भन्छ । तर, सरकार हेरेरमात्र बस्छ ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै अहिले मुलुकको अर्थतन्त्र तहसनहस रहेको उनको दाबी छ । उनले भने,‘कर्मचारीलाई तलब खुवाउन आन्तरिक वा बाहृय ऋण लिनुपर्ने अवस्था देखिएको छ । राजश्वको लक्ष्यभन्दा कम रकम उठेको छ । सरकार निर्माण व्यवसायीलाई भुक्तानी दिनसक्ने अवस्थामा छैन् । आन्तरिक रुपमा अर्थतन्त्र तहसनहस छ । सहकारी काण्डमा ठूला मान्छे मुछिएका छन् । बचतकर्ताहरु न्यायको भीख खोज्दैछन् । अहिले ग्यालेक्सी फोर–के बन्द भयो भन्ने आएको छ । अढाई वर्षको अवधिमा यो देशमा एउटा पनि नयाँ परियोजना सुरु भएको छैन् ।’

उनले सुशासनको क्षेत्रमा पनि सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘सुशासनको क्षेत्रमा सरकारले के काम गर्यो त ? ज्यान मारेकाहरु आममाफी दिईयो । तर, सर्वोच्च अदालतले न्याय दियो । संक्रमणकालिन न्याय टुँगो लगाउनको लागि अहिले के देखिँदैछ छ भने, हिजो मानवताविरुद्धका गम्भीर अपराधमा पनि उन्मुक्ति दिन खोजिँदैछ। एमाले गम्भीर अपराधमा उन्मुक्ति दिन नहुने पक्षमा छ । टिआरसी टुँगो लगाउने कुरामा एमाले पीडित र न्यायको पक्षमा उभिन्छ ।’

प्रधानमन्त्री प्रचण्डको एका वर्षमा सफलताको कुरा गर्दा सत्ता गठबन्धन एक वर्षसम्म जोगाउनु नै मुख्य सफलता रहेको उनको दाबी छ । उनले भने,‘यो सरकारको सकारात्मक काम गठबन्धन जोगाएको छ । बढा सुरक्षित साथ जोगाएको छ । एमाले सरकार ढाल्न लाग्दैन् । हामी सरकार बनाउने वा गिराउने पक्षमा छैनौं ।’ उनले सरकारले विभिन्न काण्डको कुरा गरेर सस्तो लोकप्रियता हाँसिल गर्न खोजेको र ती काण्डमा कतै एमाले भेटिन्छ की भनेर पाना पल्टाएपनि कतै नभेटेको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको सरकारलाई खुलेआम चूनौति छ, एमाले कतै मुछिएको छ भने सरकारले कारबाही गर्नुपर्यो नि त । ती सबै फण्डा थिए । एमालेको सरकारले राम्रो काम गरेको छ । बदनामी गर्ने काम भयो । जति पनि फाइल खोलिए, हरेक पानामा अनि शब्द–शब्दमा सरकारले त एमाले खोजेको हो । जता पल्टायो सत्ता गठबन्धन मान्छे देखिन्छन् । माओवादी देखिन्छन् । अहिले गृहमन्त्रीको हुँकार पनि बन्द भयो । अहिले सल्याकसुलुक् हरायो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot