Logo

बगरखेती गर्ने किसानलाई अनुदान



कञ्चनपुर, १० पुस । कृष्णपुर नगरपालिका–२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो ।

कल्पना किसना समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए । “बगरमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८० जना किसानलाई २१ किलो २५ ग्रामका दरले रासायनिक मल वितरण गरेका छौँ” उनले भने “किसानलाई बगरखेतीप्रतिको मोह बढाउनका लागि यस कार्यले मद्दत पु¥याउने छ ।”

बगर खेतीमा संलग्न परिवारको आयस्तरमा वृद्धि गर्नका लागि बगरखेतीमा अनुदान दिइएको वडा अध्यक्ष साउदको भनाइ थियो । उनका अनुसार नगरपालिकाको कृषि विकास शाखाले बगरखेतीमा संलग्न किसानलाई बीउबिजन र प्रविधिमा सहयोग पु¥याउँदै आएको छ ।

बगरखेतीमा संलग्न किसान धीरेन्द्र रानाले वडा कार्यालयबाट विगतमा पनि सहयोग हुँदै आएको चर्चा गर्दै मलखाद अनुदानमा उपलव्ध गराएर खेती गर्ने किसानको हौसला बढाउनमा मद्दत पुगेको बताए । “बगरमा तरकारी उत्पादन गर्न जसरी सहयोग हुँदै आएको छ त्यसैगरी बजार प्रवद्र्धनमा सहयोग गर्नका लागि वडा कार्यालयलाई आग्रह गर्दछु”, उनले भने ।

बगरखेतीमा मुक्तकमैया परिवारका व्यक्ति बढी संलग्न रहदै आएका छन् । वनहरा नदीको बगरमा मुक्तकमैयाले विगत एक दशकदेखि खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

बगरखेती गरेर मुक्तकमैया परिवारले मौसम (सिजन)मा ६० हजारदेखि तीन लाखसम्म आम्दानी लिने गरेका छन् । बगरमा लौका, फर्सि, तरभूजा, काँक्रा लगायतको खेती हुने गरेको छ । यहाँ उत्पादित तरकारी महेन्द्रनगर, धनगढीसहित काठमाडौँसम्म बिक्रीका लागि पुग्ने गरेको छ । मुक्तकमैया परिवारले फुटकर रुपमा वनहरा नदी छेउको पुल नजिकैको सडक छेउमा बसेर तरकारी बिक्री गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot