काठमाडौं, १० पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई नेपाल मेडिसिटी बयोधा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सम्मान गरेका छन् ।
वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अस्पताल प्रमखु विजय रिमालले नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेटको माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाईरहेकोमा आफूहरु गौरवान्वित भएको बताए ।
अस्पतालको सम्मानपछि कप्तान रोहितले नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेपाली जनताले प्रदान गरेको हौसला र मायाले गर्दा हिजोका दिनसम्म भारत र पाकिस्तानजस्ता देशहरुसंग क्रिकेट खेल्ने कुरा सपना जस्तै लाग्ने गरेकोमा अहिले त्यसलाई आफूहरुले यथार्थमा परिणत गरेको बताए ।
खेलकुदमा चिकित्सक तथा फिजियोथेरापीको सहयोग निक्कै अपरिहार्य भएको र खेलकुदमा दौरानमा कुनै स्वास्थ्य समस्या आएमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले तुरुन्त सहयोग गर्ने गरेको कप्तान रोहितको भनाइ छ ।
कार्यक्रममा अस्पतालका हाडजोर्नी तथा स्पोर्टस् मेडिसिन विभागका प्रमुख डा. रञ्जनकुमार झाले खेलकुदजन्य दूर्घटनाहरुलाई कम गर्न तथा सुरक्षित खेलकुदका लागि आफूहरु खेलाडीसंग सहकार्य गर्दै आएको बताए । खेलकुदजन्य दूर्घटना न्यूनीकरणका लागि आफूहरुले स्पोर्टस् मेडिसिन सम्बन्धी जनचेतना, विभिन्न खेलकुदहरुमा मैदानमै प्राथमिक उपचारका सेवा तथा ठूला दूर्घटनाहरुलाई अस्पतालमा शल्यक्रिया तथा सघन उपचार लगायतका सेवाहरु प्रदान गरिरहेको उनले बताए ।
अस्पतालका फिजियोथेरापी विभागका प्रमुख डा.नृपेन्द्र कुमार कर्णले फिजियोथेरापीले खेलाडीहरुको फिटनेश, दूर्घटनापछिको स्वास्थ्य पूनस्थार्पना लगायतका कार्यहरुमा सहयोग पुर्याउने भएकोले खेलकुदमा आफूहरुको भूमिका अहम हुने र खेलकुद आयोजनामा चिकित्सक तथा फिजियोथेरापीहरुलाई मैदानमै राख्ने ब्यवस्था गरिने गरेको बताए ।