Logo

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- लोडसेडिङको युगदेखि विद्युत् निर्यात गर्ने युगमा पुग्नु ठूलो उपलब्धि



काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोडसेडिङको युगदेखि विद्युत् निर्यात गर्ने युगमा पुग्नु ठूलो उपलब्धि भएको दाबी गरेका छन् ।

मंगलबार सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आज लगभग सिंगो देशमा विद्युत्को पहुँच पुगेको स्पष्ट पारे । उनले भने, “वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।”

तर,यसमा सन्तोष मान्न नसकिने उनले बताए । “मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो । यसै वर्ष भएको मेरो भारत भ्रमणका क्रममा १० वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ,” उनले भने ।

यो नेपालकोसमृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति भएको औल्याउँदै उहाँले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको एकदमै नजिक पुगेको र नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्