काठमाडौं,११ पुस । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराप्रहरीले जनाएको छ । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।
गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।
दुवै खुट्टामा प्रहरीको गोली लागेर घाइते भएका सिंहको उपचार रातिदेखि नै प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ । उनी भारतको बिहार राज्यमा पर्ने मोतीहारी जिल्लाको हुन् ।
प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।