काठमाडौं,११ पुस । संसद्को सार्वजनिक लेखा समितिको बैठक जारी छ । सिंहदरबारमा बिहान ११ बजेबाट बैठक बसिरहेको हो ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले टेरामक्सबारे विषय लेखा समितिले टुङ्गो लगाउन नसक्ने बताएका छन् ।
आजको लेखा समितिको बैठकमा बोल्दै समितिको छलफलले टेरामक्स खरिद प्रकरण टुङ्गो लगाउन नसक्ने र यसको लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।
यस्तै खरीद प्रक्रियासँग सम्बन्धित कागजात समेत सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म सक्कल प्रमाणपत्र झिकाउन पर्छ,’ उनले भने, ‘लेबनानको कम्पनीसँग खरिद गरिएको छ । भुक्तान साइप्रसमा गर्ने भनिएको छ ।’
‘खरिद प्रक्रियाको कागजातमा नेओआलको मोबाइल डाटाबरे सम्पूर्ण तथ्याङ्क लेबनानी कम्पनीलाई दिने भनिएको छ’ उनले भने ‘यसबारे प्रस्ट पारिनुपर्छ । यसबाहेक खरिद प्रक्रिया अधिकांश अपारदर्शिता देखिएको र यी सबै विषय टुङ्गो लगाउनुपर्छ’ बाँस्कोटाले भने ।