काठमाडौं,११ पुस । लुम्बिनी प्रदेशलाई ९ रनले पाखा लगाउँदै बागमती प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा तेस्रो जित हात पारेको छ ।
बागमतीले दिएको ११० रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०० रनमा समेटिएपछि बागमतीले तेस्रो जित निकालेको हो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले २९ तथा कमला जीएमले २० रन जोडेपनि त्यो जितका लागि प्रर्याप्त भएन ।
सरस्वती पुनले १६ रन थपेको खेलमा लक्ष्मी चौधरीले ११ रन बनाइन् । लुम्बिनीले ८ रन अतिरिक्त पाएको थियो । बलिङतर्फ बागमतीकी खुसी डंगोल र अस्मीना कमाचार्यले समान २२ तथा सोनि पाख्रिन, संस्कृति फूयाँल र मनिसा उपाध्यायले समान १ विकेट लिए ।
यसअघि कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाएर १०९ रन जोडेको थियो । बागमतीका लागि हेलिसा गुरुङले सर्वाधिक ४६ रन जोड्नि । ५ खेलबाट ६ अंक जोडको बागमती अंक तालिकाको चौथो स्थानमा रहेको छ भने ५ खेलमा ४ अंक जोडेको लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।