Logo

बैठकमा कड्किँदै सुमनाले सोधिन्- प्रधानमन्त्रीसँग बयान लिने ल्याकत छ छानबिन समितिको ?



काठमाडौं,१२ पुस । एनसेलको शेयर खरिद-बिक्री प्रकरणबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिमाथि सांसदहरुले प्रश्न उठाएका छन् ।

बिहीबार बसेको संघीय संसद्को शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै रास्वपाकी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले छानविन समितिको औचित्यतामाथि प्रश्न उठाउँदै आशंका व्यक्त गरेकी हुन् ।

“प्रतिवेदन फुल हाउसमा या पत्रकार सम्मेलन गरेर दिन्छ कि सुटुक्क मन्त्रालयमा दिन्छ ? फेरि बालमन्दिरको जस्तै हुन्छ । यस्ता धेरै समिति देखियो त्यस्तै हुने हो ?” समितिमा कड्किँदै उनले प्रश्न गरिन्, “के त्यो समितिको हैसियत छ ? प्रधानमत्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिएर मिडियामा दिन सक्छ ? ल्याकत छ त्यो समितिको ? हैसियत छ ?”

समितिमा छलफल गर्न पुगेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालमाथि पनि उनले प्रश्नको वर्षा गरिन् । खनाललाई प्रश्न गरिन् । “त्यत्रो पैसा कहाँबाट आयो, यो एफडीआई हो कि हैन ? टेलिकम कम्पनी चलाउन साँच्चै विदेशी लगानी आ’को छ ? कति आ’को छ, कति लाग्यो त्यो चाहियो,” उनले भनिन्, “सुन्नमा के आएको छ भने नेपालकै लगानी छ यस (एनसेल)मा ।”

एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वको ५ सदस्यीय छानबिन समिति बनाएको थियो । तर, उक्त समितिको औचित्यतामाथि नै बारम्बार प्रश्न उठ्ने गरेको छ ।

एनसेलले अदालतको आदेश नमानेको विषयमा के भइरहेको छ भनेर उनले प्रश्न गरिन् । “यो सतिशलाल बक्यौता तिर्न नसकेर खारेज भएको स्मार्टकै हैन ? लाइसेन्स नवीकरण गर्दा २० अर्ब समय सान्दर्भिक छ कि छैन ?,” उनले प्रश्न गरिन्, “अहिले यो कानुन संशोधन गर्ने बेला भयो कि भएन ? एनसेलले हाम्रो अदालतले दिएको आदेश नमान्दा हामीले के गरिरहेका छौँ ।”



प्रतिक्रिया दिनुहोस्