काठमाडौं, १२ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नफरतको राजनीति गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता रिजालले सहकारीको विषयमा लामिछानेले अब जति ठूलो स्वरले चिच्याएपनि र मिडियालाई गाली गरेपनि लुकाउन नसक्ने टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्–
रविजीले सबै नेता अयोग्य हुन्, लुटेरा हुन्, अपारदर्शी छन्, पुराना दल र नेताले सक्दैनन्, त्यसकारण म योग्य छु, म नयाँ छु, मैले मात्र गर्न सक्छु भन्ने भाष्य खडा गरेर ‘नफरत’को राजनीति गर्नुभएको छ । त्यसको एउटा झलक पोखरामा आफैँ भोगिसक्नुभयो । नागरिकता, व्यक्तिगत जीवनका अरु कुरा छाडिदिऔँ, सहकारीका सन्दर्भमा आएका विषयहरु जति ठूलो स्वरले चिच्याए पनि, मिडियालाई गाली गरे पनि लुकाउन सकिँदैन । गल्ती भएपछि साइबर सेनाको सहायताले होइन, कानुन अनुसार सल्ट्याएर मुक्ति पाइएला ।