Logo

पीएम कप क्रिकेट: एक खेल अगावै प्लेअफमा पुग्ने चारै टिमको टुंगो



काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको प्ले अफमा पुग्ने चारै टिमको टुंगो लागेको छ । पहिलो पटक डबल राउण्ड रोविका आधारमा खेलाइएको यस प्रतियोगीतमा सहभागी ८ टिमले प्रत्येकसँग एक एक गरी समूह चरणमा सात खेल्न पाउँनेछन् ।

समूह चरणको एक खेल अगावै शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने टिमको टुंगो लागेको हो । ६ खेलको समाप्तीमा अपराजित रहेको विभागीय टिम एपीएफ १२ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको कोशी प्रदेश दोस्रो स्थानमा रहेको छ । एपीएफले भोलि अन्तिम खेलमा बागमतीसँग भिड्दा कोशीले लुम्बिनीसँग खेल्नेछ । भोलिको खेलमा पराजित भएपनि एपीएफ शीर्ष स्थानमा नै रहनेछ भने कोशी पराजित भएमा रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा चयन हुनेछ ।

यता ६ खेलमध्ये समान ४ खेलमा जित हात पारेको साविक विजेता सुदूरपश्चिम र बागमती प्रदेश क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् । भोलि सुदूरले गण्डकीसँग र बागमतीले एपीएफसँग खेल्नेछ । दुबै टिम पराजित भएपनि प्लेअफमा भने स्थान पक्का गर्ने निश्चित भईसकेको छ ।

शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । फाइनल खेल १८ गते हुनेछ ।



प्रतिक्रिया दिनुहोस्