Logo

प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क सल्लाहकार पराजुलीले सुनाए सरकारको एक वर्षको सफलताका फेहरिस्त (भिडिओसहित)



काठमाडौं, १२ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीले प्रधानमन्त्रीले आफ्नो एक वर्षको कार्यकालमा आफ्नो कार्यशैली बदलेको र अहिले पुष १ गतेबाट विहान १० बजे नै सिंहदरबार जान थालेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले समस्याको समाधानको लागि एक्सन–रुमबाट कामको प्रगति विवरणबारे भर्चुअल अनुगमन गरेको पनि सुनाए । आजमात्रै पनि प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धित र भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित समिक्षा गरेको पनि उनले सुनाए ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले अब प्रभावकारी कदम चाल्ने र परिणाम आउनेपनि विश्वास दिलाए । प्रधानमन्त्री दाहालले छिट्टै परिणाम दिनेगरि कार्यतालिका बनाएर काम गर्ने घोषणा गरिसकेकोले अब परिणाम पनि देखिन थाल्ने उनको भनाई छ ।

गठबन्धनको कारण सरकारमा प्रभाव र दबाब पर्ने उनको भनाई छ । तर, प्रधानमन्त्री दाहाल आफ्नो भीजनसहित सुशासन, समृद्धि र सामाजिक न्यायको काम द्रुत गतिमा काम गरेको उनको दाबी छ । उनले प्रधानमन्त्री दाहालले आफ्नो पर्याप्त समय आफ्नो भीजन कार्यान्वयन गर्नको लागि दिनुपर्ने भनेर आएको सुझाव ग्रहण गरिसकेको पनि सुनाए ।

प्रधानमन्त्री दाहालले मन्त्रीहरुले आफ्नो कार्यसम्पादन राम्रोसँग गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने भनेर खुला रुपमा भनिसकेको उल्लेख गर्दै अहिले मन्त्रीहरुलाई जिम्मेवार बनाउनको लागि निर्देशन दिईएको पराजुलीले सुनाए । उनले यो एक वर्षमा सुशासनको क्षेत्रमा धेरै काम भएको दाबी गरे । यस्तै, भ्रष्टाचारविरुद्ध पनि कदम चालिएको र तस्करी रोक्नको लागि पनि प्रभावकारी कदम चालिएको उनको भनाई छ । भूमाफीयाविरुद्ध पनि सरकारले निर्मम रुपमा कदम चालेको उनको भनाई छ ।

मिटरब्याज पीडितहरुलाई न्याय दिलाउनको लागि कानून बनाएर काम गरेको उनको जिकिर छ । भारतसँग १० हजार मेगावाट विद्युत व्यापार सम्झौता गर्ने कुरा पनि सरकारको सफलता रहेको उनको भनाई छ । भौतिक पूर्वाधार र यातायातसम्बन्धी पनि राम्रो काम भएको उनको भनाई छ ।

यस्तै, नेपाल वायु सेवा निगम नाफामा गएको भन्दै यसलाई पनि आफूहरुले सरकारको सफलताको रुपमा लिएको सुनाए । यस्तै, प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको मुद्दामा पनि अन्तर्राष्ट्रिय रुपमा नेपालको पक्षमा राम्रो वकालत गरेको उनले सुनाए । यही वर्षको अवधिमा संयुक्त राष्ट्रसंघका महासचिवपनि नेपाल आएको र यो सरकारको लागि सफलताको कडी भएको उनको भनाई छ । उनले भारत, चीन र अमेरिकासँगको सम्बन्ध सुमधुर र सुदृढ बनेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot