Logo

दैलेखको महाबु गाउँपालिकामा वडामै योजना सम्झौता



दैलेख, १२ पुस । महाबु गाउँपालिकाले वडामै योजनाको सम्झौता गर्न थालेको छ । छ वडा रहेको गाउँपालिकाले सुरुमा वडा नं ६ मा विनियोजित योजनाको सम्झौता गरेको हो ।

यसरी अन्य सबै वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिलाई राहत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । उनले भने, “गाउँपालिकाका कार्यबाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाको सम्झौता गर्न थालिएको हो, योजना सम्झौता गर्न उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

गाउँपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोलेएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डेले बताइन । चालू आर्थिक वर्षमा सञ्चालन हुने सबै योजना वडा तहमै सम्झौता गरिने उेनले जानकारी दिइन । वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँका जनताको भावना, चाहाना तथा समस्याका बारेमा जानकारी प्राप्त हुने र योजना सञ्चालनमा सहज हुने उनले बताइन ।

उनका अनुसार गाउँपालिका महातहका योजना कूलो मर्मत, साना सिँचाइ, सडक निर्माण तथा मर्मत, कुलो मर्मत, खानेपानी तथा सरसफाइ योजना लगायतका योजनाको सम्झौता गरिएको छ । वडाबाट सेवा पाउने भएपछि स्थानीयलाई राहत मिलेको छ । उनले सेवाग्राहीलाई सरल, सुलभ सेवाका साथै आउँदा, जाँदा तथा बास बस्दाको खर्च बचत हुने र समयसमेत सदुपयोग हुने बताइन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot