काठमाडौं,१३ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार दिउँसो बालकुमारीमा भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ ।
शुकबार कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा २ जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ’। विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भनेको छ ‘घटनाको सत्य तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गर्दछ । साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल गर्दछ’ ।
कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित युवाले शुक्रबार बिहान बालकुमारी क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएका थिए ।
त्यसपछि आक्रोशित युवाले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएपछि घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।