काठमाडौं,१४ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले शुक्रबार ललितपुरको बालकुमारीमा दक्षिण कोरियामा पानी जहाज निर्माण कम्पनीमा आवेदन दिएकाहरुले उत्पादन क्षेत्रमा समेत भाषा परिक्षा दिन पाउनुपर्ने माग राखेर भएको युवाहरुको आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिका कारण प्रहरीको गोली लागि दुई युवकको दुःखद मृत्यु भएको घटनाप्रति स्तब्ध बनेको जनाएको छ ।
अनेरास्ववियूकी अध्यक्ष आरती लामाले आज एक विज्ञपित जारी गर्दै आन्दोलनकै क्रममा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला चढेको गाडिमा भएको आगजनीप्रति दुख व्यक्त गरेकी छन् ।
विज्ञप्तिमा उनले भनेकी छन् ‘बेरोजगारीका कारण बाध्यता बनेको वैदेशिक रोजगार, यसमा आउने सिमित अवसर र त्यस्ता अवसरहरूमा हुने कतिपय अपारदर्शीता लगायतका समस्याबाट उत्पन्न अनेक प्रकारका असन्तुष्टि युवाहरूमा व्याप्त छन् । यस्ता असन्तुष्टीहरूलाई पारदर्शी विधि र संवादबाट हल गर्नु पर्नेमा राज्यले बल प्रयोग गर्ने कुरा न्यायोचित होइन भन्ने अनेरास्ववियूको ठहर छ ’।
अरेरास्ववियूले बेरोजगारीका कारण उत्पन्न भएका र हुनसक्ने सम्पूर्ण परिस्थितिप्रति समयमै गम्भीर बन्दै सार्वजनिक लगानी र उद्यमशीलताका योजनामार्फत मूलुकभित्रै रोजगारीको प्रबन्धका लागि ठोस कदम चाल्न सरकार समक्ष माग गरेको छ ।
‘स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेर वैदेशीक रोजगारका सन्दर्भमा आवश्यक प्रक्रिया र रोजगार अनुमति प्रणाली (इपीएस) लगायतका परिक्षाहरूलाई समेत पारदर्शी र व्यवस्थित बनाउन अनेरास्ववियू सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ’। लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।