Logo

विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्यो



गण्डकी, १४ पुस । स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् ।

अक्षयकोष स्थापनार्थ सुरु गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । सबैभन्दा बढी दोर्दी–८ बन्सारका खर्ब तामाङले तीन लाख प्रदान गरेका विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिए । “स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको हो”, उनले भने, “हालसम्म दुई सय ५० भन्दा बढी यस अभियानमा जोडिनुभएको छ ।”

अक्षयकोषको रकम वृद्धिका लागि स्वर्ण महोत्सवपछि पनि आर्थिक अभियान निरन्तर सञ्चालन हुने प्रअ घिमिरले उल्लेख गरे । उक्त अक्षयकोषलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने जनाइएको छ । बिहीबारदेखि सुरु भएको स्वर्ण महोत्सव आज सकिने विद्यालयले जनाएको छ ।

विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायत योजना अगाडि बढाएको छ । गुरुङ समुदायको बाहुल्य रहेको दोर्दीको ढोडेनी, फलेनी र बन्सार क्षेत्रका विद्यार्थी सो विद्यालयमा अध्ययन गर्छन् ।

दोर्दीका जनप्रतिनिधि र स्थानीवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल लिएकाले अहिले सुविधासम्पन्न भवनबाट विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए । उनका अनुसार हाल विद्यालयमा दुई सय बढी विद्यार्थी अध्ययनरत छन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot