Logo

रूख बचाउने कि हाँगाबिँगा?



— ‍शिशिर शर्मा, कालेबुङ                     

नेपाली जातिको सभ्यता पूर्वेली सभ्यताको सबैभन्दा पुरानो सभ्यता हो।  नेपाली पहिचानसंग जोड़िएको हिन्दु धर्म होइन, यो एउटा सभ्यता हो। विशेष गरी पूर्वीय सभ्यतालाई हिन्दु सभ्यतासंग तुलना गरिने गरेको छ।  पूर्वेली सभ्यता वा हिन्दु सभ्यता पौराणिक कालको उत्कृष्ट सभ्यता मध्ये एक हो। हिन्दु शब्दको बुझाई अहिले आएर धर्ममा परिणत भएर गयो। वास्तवमा यो कुरा सत्य होइन। सभ्यतामा धर्म जोड़िने कुरै आउँदैन। बहुसंख्यक सनातनीहरूको कारणले गर्दा मात्र यसलाई हिन्दु सनातनसंग जोड़िएको हो । वास्तवमा हिन्दु शब्द मानव सभ्यताको परियावची शब्द हो। सनातन भन्ने कुरा पूर्वेली आचरणलाई अनुसरण गर्ने प्रक्रिया मात्र हो। यसमा प्रकृतिलाई मान्यता दिएर पालन गरिने प्रक्रियालाई हिन्दु भन्ने गरिएको हो। यही प्रक्रियाभित्र क्रिष्चिय, मुस्लमान लगायतका अन्य जतिपनि धर्मवालम्बीहरू छन्,यहीभित्र पर्ने गरेको छ। तर, पूर्खाहरूले राजनीतिकरण गरेर यो पौरणिक सभ्यतालाई लथालिङ्ग बनाइदियो। थप पश्चिमी र मध्यपूर्वी संस्कृतिको प्रभाव अनि अतिक्रमणले गर्दा पनि हाम्रो यो दुर्दशा भएको हो। 

यद्यपि अन्य जातिलाई हेर्यौ भने, उनीहरूले यी सब कुरा बुझेर नै जाती एकीकरणको प्रक्रियातिर सुरूमा नै लागिपरे देखिन्छ। तर, हामी नेपाली जाति चाहिँ हिन्दु सभ्यताको केन्द्र बिन्दु र मूल जाति भएकोले गर्दा यसको असर सबै भन्दा धेर हाम्रो जातिमा परेको छ। र यसको शिकार नेपाली जाति बनिएको हो। यो भुँवरीबाट निकाश पाउन नेपाली जातिले अझै सकेको छैन। संगैमा हेर्ने हो भने अन्य जातिले समयमा नै यी कुराहरू मनन चिन्तन गरी आफू अलग बनेर एकीकरणपट्टि गए। हामी नेपालीहरूले  चाहिँ अझै पनि जात जातिको फरक छुट्याउन सकेकै छैन।

जात के हो र जाति के हो ? भन्ने पार्थक्यतालाई निर्क्योल गर्न आवश्यक छ। जात भनेको जातिको एउटा हाँगा मात्रै हो। रूख नभइ हाँगाको कुनै अस्तित्व हुन्छ र? जाति भनेको एउटा सिङ्गो रूख हो। रूखलाई  बचाए मात्र हाँगाबिँगा बच्न सक्छ। रूख नै मासिएर गए, हाँगाबिँगा आफै सुकेर जानेछ। यसैले हामीले पहिले रूख बचाउनको निम्ति पहल गर्नुपर्ने हुन्छ। यसो भए, हाँगाको सुर्ता गरिरहनै पर्दैन। 

अन्य जातिले जहिले पनि जातिको पहिचानलाई अगाड़ि राखेको हुन्छ। हामी उनीहरूलाई बंगाली, बिहारी, मारवाड़ी मात्रै देख्छौ। उनीहरूको जातिभित्र पनि विभिन्न जातहरू हुन्छन्। तर, उनीहरूको पहिचान केवल जाति अगाड़ि ल्याएर गरेको हुन्छ। यसो गर्दा हामीलाई थाह पनि हुँदैन कि उनीहरूको जाति कति धेरै जातहरूमा विभाजित छ भन्ने कुरा। तर, हाम्रो नेपाली जाति चाहिँ घरि नेपाली, घरि गोर्खाली, घरि म छेत्री, म भोटे, म तामाङ, म राई, म गुरूङ, म बाहुन भनेर विभाजित भइरहेका छौं। यो सब अदृश्य रूपमा भइरहेको खेला  ‘जातिलाई विभाजन गर, र शासन गर’, भन्ने षड़यन्त्रको फर्मूला मात्रै हो। यसको शिकार आज हामी नेपालीहरू पूर्ण रूपमा भइरहेका छौं। 

जबसम्म हामी यस विषयलाई गहन चिन्तन गर्दैनौं, अनि एकीकरणको पहल सुरू गर्दैनौं, तबसम्म हाम्रो जातीको अस्तित्व अझै तल्लो स्तरमा झरेर जानेछ। यसको निम्ति समस्त नेपाली समाजले गहिरो चिन्तन गरी एकीकरणको मार्ग अप्नाउन जरूरी छ। भाषा संस्कृति र जातिलाई कुनै पनि राष्ट्रियताको सिमानाले छेक्दैन। यो कुरा राष्ट्रियतासंग जोडनु गलत हो। यो प्रक्रियालाई विश्वव्यापी बनाउन जरूरी छ। यसको निम्ति नेपाल राष्ट्रले पहल  गर्नु आवश्यक छ। राजनीति छोड़ेर जाती एकीकरणको पहल गर्नु नेपाली समाजको निम्ति अति आवश्यक छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot