वीरगञ्ज, १५ पुष । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरूका कारण देश असफल भएको टिप्पणी गरेका छन् । ठूला दलका शीर्ष नेताहरुकै कारण मुलुकमा आर्थिक संकट गहिरिँदै गएको पनि उनको आरोप छ ।
आजपाद्वारा पर्साको पोखरियामा आज (आइतबार) आयोजित पार्टी प्रवेश एवम् कर्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ठूला दलहरू कांग्रेस, एमाले र माओवादीलगायत दलका नेताहरूलाई सत्ताबाहेक अरुको कुरामा चिन्ता नरहेको टिप्पणी गरे ।
उनले भने,‘कांग्रेस, माओवादी, एमालेलगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरुलाई फुर्सद छैन्’– अध्यक्ष साहले भने,‘सत्तामा कसरी पुग्ने अनि सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगारी सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारको समस्या देखिएको छ ।भ्रष्टाचार र कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिँदै गएको छ । रोजगारी खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन् । रोजगारका लागि विदेश जान्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गरेको दृश्य हामीले देखेका छौं ।’
उनले ठूला दलका शीर्ष भनाउँदा नेताहरुको सत्तामोहकै कारण यो व्यवस्था असफल भएको पनि ठोकुवा गरे । उनले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको पनि औंल्याए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार, अहिलेका ठूला दल तथा दलका मठाधिशहरु असफल भईसकेको साहको दाबी छ । उनले तत्काल प्रचण्ड नेतृत्वको सरकार विघटन गरि अन्तरिम सरकार गठन गरेर देशलाई निकास दिनुपर्ने आवश्यकत्ता औंल्याए । त्यसो गर्न नसकिए मुलुक पछि पर्ने उनको ठोकुवा छ ।
यस्तै, अध्यक्ष साहले वीरगञ्जसहित पुरै मधेशलाई उजाड बनाउने काम जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेको आरोप लगाए । मधेशलाई उजाड बनाउने काम गरेको भन्दै उनले उपेन्द्र यादवलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए । देशकै आर्थिक राजधानी रहेको वीरगंजसहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउने काम उपेन्द्रले गरेको उनले दोहोर्याए ।
‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडि छ । वीरगञ्जसहित मधेसलाई बर्वाद र उजाड बनाउने अनि तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ’–साहले भने,‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिलेपनि शासनमा छँदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यत्तिकै छाड्ने हो ? मधेसलाई गुलजार बनाउने हो भने मधेसलाई उजाड बनाउनेलाई दण्डित गर्नैपर्छ ।’
दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मच्चाईरहको साहको आरोप छ । संघीय सरकारसहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा शसक्त आवाज उठाउनुपर्ने बताए ।
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्नेलगायतका विषयमा आजपाले आवाज उठाउदै आएको उनले सुनाए । सो क्रममा उनले ती माग पूरा गराउनको लागि पार्टीले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन पनि पार्टीका नेता तथा कार्यकर्ताहरुसहित आम जनतालाई आह्वान गरे ।