Logo

गृहमन्त्री र आईजीपीले मन्त्री ज्वालामाथि खन्याए दोष, सांसदले मागे गृहमन्त्रीकै राजीनामा



काठमाडौं,१६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षाबारे विवादमा आन्दोलनरत २ युवाले ज्यान गुमाएपछि चौतर्फी आलोचना र आक्रोश बढ्दो छ ।

आन्दोलनरत युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको गोली लागेर वीरेन्द्र शाह र सुजन राउतले ज्यान गुमाएका थिए । उक्त घटनापछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनिामा दिनुपर्ने माग र दवाव बढ्दै गएको छ ।

दबाब बढ्दै गएपछि सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री श्रेष्ठसहित नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरलाई छलफलका लागि बोलाएको थियो ।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुवर गृहमन्त्री श्रेष्ठले मन्त्री ज्वालाको गाडी आन्दोलन स्थलमा पुगेपछि घटनाले जटिल मोड लिएको जवाफ दिएका छन् । कुँवरले परिस्थितिलाई थप अतिरञ्जित नबनाउन बाध्यताबस् गोली प्रहार भएको पनि जिकिर गरेका छन् ।

‘मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन,’ उनले भने,‘उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ। प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो’ । गोली चलेको यकिन नभए पनि १२ः२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए ।

यता उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पनि घटनाको मूख्य दोष मन्त्री ज्वालाको सवारीलाई थुपरेका छन् । उनले मन्त्री ज्वालाको गाडी त्यहाँ पुगेपछि घटनाले नयाँ मोड लिएको उल्लेख गर्दै भने ‘मन्त्रीज्यू पार्टीको कार्यक्रममा निस्कनुभएको रहेछ। त्यही बाटो भएर आउनुभएको थियो। त्यो बाटोबाट मन्त्रीज्यू किन आउनुभएको होला ? ’उनले भने, ‘यो घटनालाई अर्को मोडतर्फ लैजान यसले उत्प्रेरकको भूमिका खेलेको छ। त्योअघि प्रहरीले लाठी चार्ज, अश्रु ग्यासलगायत मात्रै गरेको थियो। मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ ।’

यता सांसदहरुले भने घटनामा मन्त्री ज्वालासँगै गृहमन्त्रालयको पनि गम्भीर लापरबाही भएको आरोप लगाउँदै गृहमन्त्रीले श्रेष्ठले पनि राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा बोल्दै रास्वपाकी सांसद डा चन्दा कार्की भण्डारीले उक्त घटनामा नैतिक जिम्मेवारी लिँदै गृह मन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् ।

सांसद भण्डारीले विगतका उदाहरण प्रस्तुत गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिइन् ।

“कृतिनिधि विष्ट, सूर्यबहादुर थापा, केशरबहादुर विष्टले नैतिकताको आधारमा राजीनामा दिएको उदाहरण छ,” उनले भनिन्, “कहिले पलाउँछ नैतिकता ? नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।”

युवाको असन्तुष्टि राज्यले नसुनेको उनको भनाइ छ । “अदालतले पनि बोल्दा किन राज्यले नसुनेको ? गृहमन्त्रीको नैतिकता खै ?,” उनले प्रश्न गरिन् ।

राज्यले गरेको हत्यामा गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति नपाउने उनको जिकिर छ । “यो राज्यले गरेको हत्या हो । ईपीएसका कारिन्दा, पीएसओलाई देखाएर उम्कन पाउँदैन,” उनले भनिन्, “नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन ।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठले मन्त्रालय चलाउन नसकेको दाबी गर्दै राजीनामा दिन सुझाव दिएका छन् । ‘अब यसो गरौं मन्त्रीज्यू, तपाईं सार्वजनिक व्यक्ति राजीनामा दिनुस्,’ गृहमन्त्री श्रेष्ठकै अघि सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाईं राजीनामा दिनुस्। राजीनामा दिनुपर्‍यो नि१ विदेश गएर काम गरी खान्छु भन्नेलाई ताकीताकी गोली हानेपछि तपाईंले राजीनामा नदिए कसले दिने ?’

पूर्वमन्त्रीसमेत रहेका राईले गृहमन्त्रीले राजीनामा नदिएपसम्म छानबिन समितिले निष्पक्ष काम गर्न नसक्ने जिकिर पनि गरेका छन् ।

अर्का सांसद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बालकुमारी घटनामा राज्यको गम्भीर गल्ती रहेको उल्लेख गरेका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले हरेक घटनामा ज्यान गुमाउनेलाई १० लाख दिएर मात्र पन्छिन नपाइने बताए ।

‘अहिलेको घटनामा पीडितहरुलाई दश लाख दिएर समस्या समाधान हुँदैन, उनीहरूको परिवारलाई राज्यले हेर्नुपर्छ र फिल्डमा जसले गल्ती गरेको छ त्यसको मसिनो अध्ययन अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्छ’, केसीले भने ।

बैठकमा बोल्दै नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनामा नैतिकताको आधारमा गृहमन्त्रीले मात्र नभएर प्रधानमन्त्री स्वयंले राजीनिामा दिनुपर्ने बताएका छन् । ‘सरकार नै समग्रतामा नालायक, असफल र निकम्मा भएकाले वर्तमान सरकारका प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा सबभन्दा राम्रो’, श्रेष्ठले भने ।

एमालेकै अर्का सांसद रघुजी पन्तले सरकारको नालायकीपनले बालकुमारी घटना निम्तिएको आरोप लगाएका छन् । ‘सरकारले गरिरहेका कामको असन्तोष बालकुमारी घटनामा विस्फोट भएको हो । गृहमन्त्रीज्यू तपाईं राजीनामा दिनुहुन्छ हुन्न त्यो तपाईको कुरा भयो । त्यस कारण आयोग बनाएर र केही कर्मचारीलाई निलम्बन गरेर समाधान निस्कँदैन’, नेता पन्तले बालकुमारी घटनामा मारिएका युवकको परिवारलाई रोजगारीको ग्यारेण्टी गर्न पनि माग गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले सरकारले नैतिकता गुमाएको उल्लेख गर्दै समुन्द्रमा हराएको टाइटनिक भेटिएला भन्ने आशा जिवित रहेपनि सरकारमा नैतिकता नभेटिने उल्लेख गरेका छन् । उनले सरकारकै कारण बालकुमारी घटना भएको आरोप लगाए ।

‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन । तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’ उनले भने ।

यता सत्तारुढ दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले बहालवाला मन्त्रीलाई गाडीबाट धकेलेर सवारी साधनमा आगजानी गर्ने परिस्थिति कसका कारण सिर्जना भयो भन्दै प्रश्न गरेका छन् । उनले बालकुमारी घटनालाई सरकारले अनदेखा गरेको बताए । ‘युवाहरू आक्रोशित थिए । आन्दोलन भइरहेका बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी त्यही बाटो किन आयो’ ? उनले प्रश्न गर्दै भने, ‘मन्त्रीलाई धकेल्ने र गाडी जनाउने परिस्थिति किन आयो ? सरकारले किन अनदेखा गरिरहेको छ ।’

कांग्रेसकै अर्का सांसद दीलेन्द्रप्रसाद बडूले बालकुमारी घटनालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । उनले भने, ‘आगो लगाइहाल्ने व्यक्ति को हुन्रु त्यही भीडबाट आएका युवाले नै आगो लगाएका हुन् कि अरू कुनै बाहिरबाट आएर त्यस्तो घटना घटाए ? बाहिरबाट आएकाले यो घटना घटाएका हुन् कि ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot