Logo

सन् २०२४ भर युद्ध जारी रहने इजराइली सेनाको चेतावनी



एजेन्सी । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ ।

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ ।

घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गरे । “हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौँ र आफ्नो समयको आनन्द लिन्थ्यौँ, तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्”, अबु अरबले भने ।

हमासले वर्षको सुरुआत इजराइलमा रकेट हमला गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । रकेट हमला गरेपछि तुरुन्तै २६ वर्षीय गेब्रियल जेमेलम्यानले भने, “मेरो मुटु धड्किरहेको थियो, यो भयानक छ, तपाईंले हामीले जुन जीवन बाँचेको देख्नुभयो, यो पागलपनले भरिएको छ ।”

इजराइलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरु गरेको छ । यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजराइली हमलामा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार आठ सय २२ जना मारिएका छन् । इजराइली सेनाका अनुसार गाजाभित्र इस्लामिक लडाकू समूह हमासविरुद्धको युद्धमा उसका एक सय ७२ सैनिक मारिएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot