काठमाडौं, १७ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले नेपाल–भारतबीच दुई देशको मात्रै नभएर जनस्तरको सम्बन्ध रहेको भन्दै आगामी दिनमा यसलाई अझै सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको लोकप्रिय कार्यक्रम ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनले भने–‘नेपाल र भारतबीच दुई देशको वा राज्यको मात्रै सम्बन्ध होईन, हामीबीच सयौं वर्षदेखि जनताका बीचमा पनि सम्बन्ध छ । हामीबीच खुला सिमाना छ । धार्मिकदेखि सांस्कृतिकसम्म पनि नेपाल र भारतबीच प्रगाढ सम्बन्ध छ । हामीबीचको सम्बन्धलाई अझै गहिरो बनाउनुपर्छ । यसो गर्न सकियो भने दुवै देशलाई फाईदा हुन्छ । एउटा देशले अर्को देशलाई आलोचना गरेर कुनैपनि देश बन्दैन् ।’
उनले भारतीय विदेशमन्त्री जयशंकरले नेपाल राम्रोसँग बुझेको पनि सुनाए । दुई देशबीच रहेका सानातिना मनमुटावहरु खुला हृदयका साथ छलफल भएर हल गरिने पनि उनको भनाई छ । भारत र नेपालबीच १० वर्षभित्र १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता अब कार्यान्वयनतर्फ जाने र यो कार्यान्वयनसँगै नेपाल समृद्धिको मार्गमा अघि बढ्ने सांसद खतिवडाको दाबी छ ।