Logo

पत्रकारिता शिक्षामा गोकुल पोखरेलको योगदान सधैं स्मरणमा रहनेछ: आरआर क्याम्पस



काठमाडौ,१७ पुस । वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधनप्रति रत्न राज्यलक्ष्मी क्याम्पसले दुःख व्यक्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले रत्न राज्यलक्ष्मी क्याम्पसबाट स्नातक तहमा पत्रकारिता पठनपाठन सुरु गर्दा संस्थापक अध्यापकमध्येका एक रहेका पोखरेलको ८८ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

मंगलबार आरआर क्याम्पस पत्रकारिता तथा आम सञ्चार विभागका प्रमुख श्रीराम पौडेलले एक विज्ञप्ति जारी गर्दै क्याम्पसले पत्रकारिता तथा आम सञ्चार विषयमा स्नातकोत्तर तह सुरु गर्दा पनि पोखरेलको महत्वपूर्ण योगदान रहेको स्मरण गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता शिक्षा अगाडि बढाउनुका साथै नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव तथा पछि अध्यक्षका रूपमा पनि उनको योगदान रहेको पौडेलले उल्लेख गरेका छन् ।

‘पत्रकारिता र अध्ययन अध्यापन तथा अनुसन्धान लगायतका क्षेत्रमा जीवन समर्पण गर्नुभएका पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य समेत रहनु भएको थियो । उहाँ राष्ट्रिय समाचार समिति र गोरखापत्र दैनिकको सम्पादक रही नेतृत्त्वदायी भूमिकामा समेत रहनु भएको थियो । पत्रकारिताको व्यावसायिक विकासका लागि तालिम र मर्यादित पत्रकारिताका लागि उहाँले सधैं वकालत गर्दै आउनुभएको थियो । नेपालको समग्र पत्रकारिता तथा पत्रकारिता शिक्षामा उहाँले पुर्याउनु भएको योगदान सधैं स्मरणमा रहनेछ’ पौडेलले विज्ञप्तिमा भनेका छन् ।

आरआर क्याम्पसले स्वर्गिय पोखरेलप्रति श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्