काठमाडौं,१७ पुस । परराष्ट्र मन्त्री एनपी साउदले पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूसँग छलफल गरेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका शिलशिलामा उनले आज छलफल गरेका हुन् ।
छलफलका क्रममा पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव प्राप्त भएका मन्त्रालयले जनाएको छ ।
उनीहरूले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिएका थिए ।
मन्त्रालयका अनुसार उनीहरूले बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनु पर्ने, विद्युत व्यापारलाई विस्तार गर्नु पर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनु पर्ने, हवाई रुट लगायतका विषय सम्बोधन गर्नु पर्ने आदि विषयमा पनि सुझाव दिएका थिए ।
मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डा। भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंह लगायतको सहभागिता रहेको थियो । भारतीय विदेश मन्त्री जयशंकर यही बिहीबार नेपाल आउँदै छन्।