Logo

नेविसंघद्वारा विश्वविद्यालय सुधार आन्दोलन सुरु, राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने माग



काठमाडौं, १७ पुस । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालय सुधार अभियान सञ्चालन गरिरहेको छ । नेविसंघले ‘रिभाइभ टियू, रिभाइभ नेसन’ को नारासहित अभियान सञ्चालन गरेको हो ।

समितिले गत पुस १२ गते सबै जिल्ला कार्यसमिती, क्याम्पस इकाई समिति तथा स्वबियु समितिहरुलाई जारी गरेको परिपत्र गरी अभियान सुरु गरेको हो ।

विश्वविद्यालयमा राजनितिक भागबण्डा अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाबाट मेरिटका आधारमा उपकूलपति लगायतका पदाधिकारी तत्काल नियुक्त गर्न, प्रधानमन्त्री कूलपति रहने व्यवस्था पुनरावलोकनको माग राखी नेविसंघले देशभरबाट विविध स्वरुपमा शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।

आन्दोलनका क्रममा नेविसंघले आज परीक्षा, नतिजा प्रकाशन, सर्टिफिकेट वितरण लगायतका सबै खाले ढिला सुस्तिको अन्त्यका परीक्षा नियन्त्रण कार्यलय बल्खुमा दवाब कार्यक्रम गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस समिले आयोजना गरेको विरोध कार्यक्रममा सांकेतिक विरोध स्वरुप राम्रो कार्यसम्पादन गर्ने कर्मचारिका लागि सम्मान र कार्यसम्पादन सुस्तीका विरुद्ध फूल माला लगाइदिएको थियो ।

विरोध कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले भागबण्डाको कारण विश्वविद्यालयमा समस्या आएको दाबी गरे । ‘भागबण्डाको कल्चरको कारणले गर्दाखेरी विश्वविद्यालयमा समस्या भइरहेको छ । समयमा परीक्षा नहुने, रिजल्ट नआउने, रिजल्ट आएपछि पनि ट्रान्सकिपमा समस्या हुने, दूरदराजका विद्यार्थीहरुले पनि काठमाडौं आउनुपर्ने सिस्टम छ । यसको अन्त्य हुनुपर्छ,’– उनले भने ।

विश्वविद्यालयमा क्यालेन्डर लागू हुनुपर्ने, विश्वविद्यालय प्रविधिमैत्री हुनुपर्ने, विकेन्द्रीकरण, राजनीतिक नियुक्तिको अन्त्य, विश्वविद्यालयको एप, पारदर्शिता, एक्टिभ हटलाईन लगायतका विषय उनीहरुको माग रहेको छ । फोटोः दिनेश चौधरी / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्