Logo

प्रधानमन्त्री कपमा अप्सरी बेगमको ह्याट्रिक



काठमाडौं,१८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी(२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी अप्सरी बेगमले ह्याट्रिक गरेकी छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा बेगमले एपिएफविरूद्ध अन्तिम ओभरको पहिलो तीन बलमा लगातार विकेट लिएर ह्याट्रिक गरेकी हुन्।

उनले २०औं ओभरको पहिलो बलमा एपिएफका लागि अर्धशतक बनाएर खेलिरहेकी इन्दू बर्मालाई नमिता श्रेष्ठबाट क्याच गराइन्। दोस्रो बलमा नेरी थापालाई विकेटकिपर काजल श्रेष्ठबाट स्टमपिन गराउदा तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गरिन्। यो प्रधानमन्त्री कप २०८० को पहिलो ह्याट्रिक हो।

प्रतियोगीताको उपाधि जित्न विभागीय टिम एपीएफले कोशी प्रदेशलाई ११५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोड्यो ।

उसका लागि ओपनर इन्दू बर्माले ५३ रनको अर्धशतक बनाइन् । २० औं ओभरको पहिलो बलमा अपुसरी बेगमको बलमा क्याच आउट हुनुअघि उनले ४७ बलको सामना गर्दै ६ चौका र १ छक्का हिर्काइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर १ रनमा आउट हुँदा रोमा थापाले १४ र ज्योति पाण्डेले २७ रन थपिन् । नेरी थापा र सोनु खड्का शून्य रनमा आउट हुँदा ममता चौधरी तीन रनमा आउट भइन् ।

बलिङतर्फ ह्याट्रिक गरेकी अप्सरीले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट चट्काइन् । त्यस्तै एलिसा खाडियाले २ विकेट लिँदा रुविना क्षेत्री र निशा साहले समान १ विकेट लिर्यन् । यस प्रतियोगीतामा एपीएफ हालसम्म अपराजित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्