काठमाडौं,१८ पुस । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँडको विषयमा दलहरुबीच छलफल चलिरहँदा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले पनि भाग खोज्ने भएको छ ।
नाउपाका संरक्षकसमेत रहेका पूर्व सांसद रेशमलाल चौधरीले आफ्नो दललाई एक सिट दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँग समझदारी भईसकेको दाबी गरेका छन् ।
कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले सो दाबी गरेका हुन् । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।
उनले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीले एक सिट पाउने र सुदूरपश्चिममा एक सिट दाबी गरिएको बताए। उनी भन्छन्,‘हामीले सुदूरपश्चिम प्रदेशमा एक सिट दाबी गरेका छौँ २१ गते गठबन्धन दलको बैठक बस्दै छ । जुन कलस्टर हामीलाई पर्छ हामी त्यहि अनुसार नाम सिफारिस गर्छौ ’