काठमाडौं,१८ पुस । ओपनर इन्दू बर्माको ५३ रनको अर्धशतकप्रेरित विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट २०८० को उपाधि जितेको छ ।
बुधबार भएको फाइनल खेलमा साविक विजेता कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि रक्षा गरेको हो । एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रनमा समेटिएपछि एपीएफले ११ रनको जित निकाल्दै उपाधि रक्षा गरेको हो ।
कोशीका लागि ओपनर तथा कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रन जोडेपनि त्यो जितका लागि प्रर्याप्त भएन् । ५८ बलमा ७ चौका र १ छक्का हिर्काएकी रुविना करुणा भण्डारीको बलमा आउट भइन् । त्यस्तै काजल श्रेष्ठले २२ तथा ओपनर अपुसरी बेगमले ८ रन थपिन् ।
बलिङतर्फ एपीएफकी सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोडेको थियो ।
उसका लागि ओपनर इन्दू बर्माले ५३ रनको अर्धशतक बनाइन् । २० औं ओभरको पहिलो बलमा अपुसरी बेगमको बलमा क्याच आउट हुनुअघि उनले ४७ बलको सामना गर्दै ६ चौका र १ छक्का हिर्काइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर १ रनमा आउट हुँदा रोमा थापाले १४ र ज्योति पाण्डेले २७ रन थपिन् । नेरी थापा र सोनु खड्का शून्य रनमा आउट हुँदा ममता चौधरी तीन रनमा आउट भइन् ।
बलिङतर्फ ह्याट्रिक गरेकी अप्सरी बेगमले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट चट्काइन् । त्यस्तै एलिसा खाडियाले २ विकेट लिँदा रुविना क्षेत्री र निशा साहले समान १ विकेट लिर्यन् । यस प्रतियोगीतामा एपीएफ हालसम्म अपराजित रहँदै उपाधि उचालेको हो ।