Logo

कोशीमा सभामुख चयन प्रक्रिया अर्को साताबाट थालिने



काठमाडौं,१८ पुस । रिक्त रहेको झण्डै ६ महिनापछि कोशी प्रदेश सभाले सभामुख पाउने करिब टुंगो लागेको छ । बुधबार बसेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले आउँदो २४ गतेबाट सभामुख चयनको प्रकिया थाल्ने सहमति भएपछि प्रदेश सभाले नेतृत्पव पाउन लागेको हो ।

कोशी प्रदेश सभाको बैठक २४ पुसका लागि डाकिएको छ । सोहि दिनबाट नै सभामुखको चयन प्रक्रिया थालिने बैठकमा सहभागी एक नेताले जानकारी दिए । कोशीमा गत साउन १६ गतेबाट सभामुख पद रिक्त रहेको छ । तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई बहुमत पुर्याउन सभामुख रहेका बाबुराम गौतमले राजीनामा दिएपछि हाल प्रदेश सभाको नेतृत्व उपसभामुख सिर्जना दनुवारले गर्दै आएकी छन् ।

कोशीमा यसअघि नै सत्तारुढ दलले सभामुख राप्रपालाई दिने निर्णय गरिसकेको छ भने राप्रपाले पनि सभामुख लिएर प्रदेश सरकारमा सहभागी हुन सकारात्मक रहेको सत्तारुढ दलले दाबी गर्दै आएका छन् । यख्पि राप्रपाले भने सभामुखमा सांसद अम्बरबहादुर विष्टलाई पठाउनेबारेमा छलफल भएको तर निर्णय भइनसकेको दाबी गर्दै आएको छ ।

९३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४० सांसद रहेका छन् भने सत्ताको नेतृत्व गरिरहको दल नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपा ६, नेकपा एसका ४ र जसपा नेपालका १ सांसद रहेका छन् । सभामुख निर्वाचित हुन् ४७ मत आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot