Logo

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै



नवलपुर (नवलपरासी), १८ पुस । पछिल्लो समय ‘होटल म्यानेजमेन्ट’ विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताए ।

बाँकेको नेपालगञ्ज घर भएका गुरुङले होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताए । होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताए ।

नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आएकी रोनिशा भुजेलले भान्छामा हुने सामान्य कामदेखि बोल्ने शैली, सरसफाइलगायत धेरै कुराको सिकाइ होटल म्यानेजमेन्टमा हुने गरेको बताइन् । “हामीले पढेको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै अध्ययन गर्न रमाइलो हुने गरेको छ”, उनले भनिन्, “एचएम पढेपछि होटलमात्रै नभएर धेरै क्षेत्रमा रोजगारको अवसर खुल्ने भएर पढ्न सुरु गरेको हो । एचएमको पढाइले आफ्नो दैनिक जीवनमा समेत परिवर्तन ल्याएको उनले सुनाइन् ।

होटल म्यानेजमेन्टका प्रशिक्षक सरोज तामाङले अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई गरेर सिकेका कामदारमात्रै भएको भन्दै त्यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान नहुने बताए । अन्तरराष्ट्रियस्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्ने भएकाले पनि एचएम पढ्न विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।

“नेपालमै पनि नयाँनयाँ पर्यटकीय क्षेत्रको विकास, ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ”, उनले भने, “सानादेखि ठूला होटल, रेस्टुरेन्टमा होटल म्यानेजमेन्ट पढ्नेको ठूलो माग छ ।”

स्वेदशमै रोजगारबोहक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित हुने गरेको तामाङले बताए । “खासगरी पश्चिमा मुलुकमा होटल म्यानेजमेन्ट पढेको जनशक्तिको माग धेरै रहेको छ”, उनले भने, “यो विषय पढेपछि हस्पिटालिटीतर्फको भविष्य त एकातर्फ छ नै, साथै हवाई क्षेत्र, पर्यटकीय क्षेत्र, ट्राभल्स एण्ड टुर्स तथा एचएम पढाइ हुने कलेजमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिल्छ ।” पढेपछि राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए ।

अक्सफोर्ड कलेजमा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्कायका विभागीय प्रमुख हरि थपलियाले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । “गत वर्ष हामीले होटल म्यानेजमेन्टको तीनवटा सेक्सनमात्रै अध्ययन गराएका थियौँ”, उनले भने, “यस वर्ष कक्षा ११ मा होटल म्यानेजमेन्टको चारवटा सेक्सनमा विद्यार्थी अध्यापन गर्दै आएका छौँ ।” यहाँ माध्यमिक शिक्षा उत्तीर्ण गरेका विद्यार्थी काम र पढाइ दुवैका लागि विदेश जाने पनि भएका भन्दै उहाँले यो विषयमा पढेको कुरा खेर नजाने भएकाले विद्यार्थीको आकर्षण बढेको बताए ।

अरूको रोजगारी गर्न मन नहुनेले आफैँ होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीमा हुने उनको भनाइ छ । “अन्य विषय पढेका विद्यार्थीले भन्दा छिटो अवसर पाइने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढ्दो छ”, उनले भने । नेपालीमा आधुनिकीकरणको नक्कल गर्ने क्रम बढेसँगै होटल म्यानेजमेन्ट पढ्न चाहने बढ्नु पनि स्वाभाविक भएको थपलियाले बताए ।

होटल म्यानेजमेन्ट अध्ययन हुने अर्को शैक्षिक संस्था इडन गार्डेन माविका प्रिन्सिपल प्रेमहरि सुवेदीले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढेसँगै यो विषय पढाउने शैक्षिक संस्थासमेत बढेको बताए । नवलपुर र चितवनमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाउने विद्यालयमात्रै नभएर स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने कलेजको सङ्ख्यासमेत बढ्दै गएको बताए ।

“नवलपुर र चितवनबाहेक अन्य छिमेकी जिल्लाबाट समेत हाम्रो विद्यालयमा एचएम पढ्नैका लागि विद्यार्थी आउने गरेका छन्”, उनले भने, “यो शैक्षिक सत्रमा हामीले पनि एचएमका दुईवटा कक्षा सञ्चालन गरेका छौँ ।”

किताबमा पढेका सैद्धान्तिक विषयवस्तु विद्यार्थीले प्रयोगात्मकरूपमा गरेर अनुभव हासिल गर्न पाउने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उनको भनाइ छ । स्तरीय होटल खुल्ने क्रम बढेको र त्यहाँ पढेको जनशक्तिको माग हुने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot