काठमाडौं,१८ पुस । राजसंस्था अन्त्य भएको करिब २ दशकपछि पुन: एक पटक सक्रिय बनेर देश दौडाहमा लागेका पूर्व राजा ज्ञानेन्द्र शाहले रुपन्देहीको भैरहवामा राप्रपा ५ शीर्ष नेतासँग भेटघाट गरेका छन् ।
एक सातादेखि भैरहवामा रहेका पूर्व राजा शाहले मंगलबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु डा धवल शमसेर राणा, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र र दीपकबहादर सिंहसँग लञ्च मिटिङ गरेको राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता मिश्रले उल्लेख गरेका छन् ।
राप्रपा नेताहरुसँगको भेटमा पूर्व राजाले ‘हामी सबैले धेरै देख्यौरबुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’ भनेको मिश्रले उल्लेख गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई भाेलि भैरहवामा नागरिक अभिनन्दन गरिने कार्यक्रममा नेताहरू आएका हुन् । शाह दुईवटा साता यता रूपन्देही बसेका छन् । यहीँबाट कपिलवस्तु तथा नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरेका छन् । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।