काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री रामकृष्ण यादवले नेपाल र भारतबीच युनिक सम्बन्ध रहेको भन्दै यसलाई अझै सुदृढ बनाउनुपर्ने बताए ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले भने,‘नेपाल र भारतको सम्बन्ध धेरै पूरानो र मित्रताको सम्बन्ध हो । छिमेकी देशको सम्बन्ध हो । हामीबीच खुला सिमाना छ । राजनीतिक, सांस्कृतिक, सामाजिक, धार्मिक र आर्थिक र व्यवहारिक सम्बन्ध छ । अन्य मुलुकभन्दा नेपाल र भारतबीच युनिक सम्बन्ध छ । यो सम्बन्ध जनस्तर र भौगोलिक सम्बन्ध हो । केही महिना पहिले हाम्रो प्रधानमन्त्रीको भारत भ्रमण भएको थियो । भारत भ्रमणको क्रममा नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन हुन्छन् ।’
उनले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच उच्चस्तरीय वार्ता हुने र त्यस वार्तामा यसअघि भएका सम्झौता कार्यान्वयनबारे समिक्षा हुने जनाए । उनले भने,‘राजनीतिक र विकास निर्माणबारे छलफल हुनेछ । हिजोपनि भएको हो, भोलि पनि छलफल हुनेछ । सरकार–सरकारबीच, हाम्रो बीचमा सिमादेखि विकासबारे जुन समस्या छन्, त्यसबारे समिक्षा हुन्छ । सम्झौता कार्यान्वयनबारे समिक्षा नै हुने मुख्य उद्देश्य हो ।’
यादवले अहिलेको सरकार गठबन्धनको सरकार भएको र सरकारको एक वर्षमा मिश्रित नतिजा रहेको बताए । उनले भने,‘यो सरकार गठबन्धनको सरकार हो । गठबन्धनको सरकार बाध्यता पनि हो । संसद्को बनोट हेर्दा यहाँ कुनै एक दलको बहुमत छैन् । यो सरकारको एक वर्षको नतिजा मिश्रित छ । राम्रो काम भनेको नागरिकताको समस्या हल भयो । इजरायलबाट नेपालीहरुको उद्धार भयो । इजरायलबाट आफ्ना नागरिक उद्धार गर्नेमा नेपाल पहिलो देश हो । मिटरब्याजीको समस्या समाधान भयो । तर, अहिलेपनि मुलुकमा बेरोजगारीको समस्या विकराल छ । कृषिको लागि आधुनिकीकरण भएन । बजेटमा भएका कुरा पनि पूर्ण रुपमा कार्यान्वयन भएको छैन् । विकास निर्माणका कार्य वर्षौदेखि अलपत्र भएका छन् । भ्रष्टाचारविरुद्ध सरकारले कदम चाल्छ, तर परिणाम आएको छैन् । बीचबाटै शिथिलता देखिएको छ । तीन तहका सरकारबीच समन्वयन र तालमेल भएको छैन् । निजामती र प्रहरी ऐन प्रदेशले पाएको छैन् । त्यतातिर ध्यान दिनुपर्छ ।’