Logo

माओवादी नेताहरूको बालकोट दौड, प्रचण्डपनि ‘बोल्ड–डिसिजन’ लिने मुडमा !



काठमाडौं, १९ पुष । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनले गर्दा सत्ता गठबन्धन नै भत्किने संकेत गरेको छ । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई पनि राष्ट्रियसभाको निर्वाचनमा समेट्ने प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको चाहनाले गर्दा गठबन्धनमा समस्या पैदा भएको छ ।

कतिपयले संक्रमणकालिन न्याय टुँगो लगाउनको लागि एमालेको साथ अनिर्वाय भएकोले प्रधानमन्त्री दाहालले सहकार्यको प्रस्ताव अघि सारेको भनेर विश्लेषण गरेका छन् भने कतिपयले दाहालको उक्त प्रयासले सत्ता गठबन्धन नै भत्किने पनि शंका गर्न थालेका छन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच पछिल्लो समय निरन्तर भेटवार्ता भैरहेका छन् ।

यता, प्रधानमन्त्री दाहालका दूतका रूपमा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनलगायतका नेताले पनि ओलीसँग भेटवार्ता गरिरहेका छन् । प्रचण्डले नेतृत्वको गरेको वर्तमान सरकारको एक वर्ष पूरा भएको छ । दाहालले तत्काल मन्त्रिपरिषद् पूनर्गठनको प्रस्ताव राखेका छन् ।

तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे अनिच्छा प्रकट गरेका छन् । दाहाल भने कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीलाई लिएर असन्तुष्ट छन्। त्यही भएर मन्त्री फेर्ने मुडमा पुगेका थिए । तर, देउवा यसमा तयार भएनन् । अहिले प्रधानमन्त्री दाहालको ध्यान–टिआरसीमा छ । उनी जसरी पनि जतिसक्दो चाँडै टिआरसी टुँगो लगाउन चाहन्छन् । शीर्ष नेताहरुबीच यसबारे सहमति बनिसकेको चर्चा छ ।

तर, समितिका सदस्यहरुले भने अहिले सहमति भईनसकेको भनेर दाबी गरिरहेका छन् । प्रधानमन्त्री दाहालले टिआरसीमा एमालेको दरिलो साथ खोज्नु र राष्ट्रियसभामा एमालेलाई पनि समेट्न खोज्नुले निकटभविष्यमा दुई दलबीच सत्ता–सहकार्यको सम्भावना देख्नेहरु पनि छन् । एमाले र माओवादीका दोस्रो तहका नेताहरु सत्ता–सहकार्यबारे छलफलमा रहेको चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री दाहालले भने सार्वजनिक रुपमा यही गठबन्धन पाँचै वर्ष टिक्ने र अर्को गठबन्धन नबन्ने दाबी गरिरहेका छन् । तर, उनको विगत हेर्दा जुनसुकै बेला पनि बोल्ड डिसिजन लिएर गठबन्धन फेर्न उनी पछि हट्दैनन् भन्ने देखाउँछ । राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई समेट्ने प्रस्तावमा खेलेर दाहालले नयाँ गठबन्धनको लागि प्रयास थालेको चर्चा हुने थालेको छ । यसकै लागि हिजोमात्रै गृहमन्त्री श्रेष्ठले ओलीसँग बालकोट पुगेर डिनर मिटिङ गरेको बुझिएको छ ।

वर्षमान पुन त सुरुदेखि नै एमाले–माओवादीसहित वृहत्त वामपन्थी मोर्चाको पक्षमा छन् । पुष १० गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा वर्षमानले नै एमालेको साथ लिएको चर्चा अझैपनि सेलाएको छैन् । हिजोमात्रै पनि पुनले एक कार्यक्रममा वामपन्थीहरुबीच एकताको आवश्यकत्ता औंल्याएका छन् । एमालेका केही प्रभावशाली नेताहरुले भने प्रधानमन्त्री दाहालको सिंहासनमा पक्कैपनि पहेंलो धर्साहरु देखिन थालेको होला भनेर टिप्पणी गर्न थालेका छन् ।

गोकुल बाँस्कोटाले त ‘सुख्खा मौसममा वामपन्थी एकताको एकतारे धुन मन्द गतिले फैलाउन थालिएछ’ भनेर टिप्पणी गरेका छन् । उनको टिप्पणी पुनलक्षित छ । सामाजिक सञ्जाल टिकटक बन्ददेखि प्रधानमन्त्री प्रचण्डको जन्मदिनसम्म आईपुग्दा ओली र दाहालबीच सम्बन्ध सुधार भएको देख्न सकिन्छ । दुई नेताबीच पछिल्ला दिनमा एक अर्काविरुद्ध सार्वजनिक रुपमा छेडखानीपनि बन्द भएको छ ।

यस्तै, सत्ता गठबन्धनको अर्को मुख्य घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही पहिले एमालेसहितको नयाँ गठबन्धन बनाउने प्रयत्न गरेको पनि चर्चा हुने गरेको छ । चुनावमा एमालेसँग सहकार्य गरेका यादव अहिले एमालेको साथ छोडेर कांग्रेस–माओवादी गठबन्धनमा छन् । तर, मधेश प्रदेशमा भने एमालेले अहिलेपनि जसपाका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएर सहकार्यको ढोका खुला राखेको छ । त्यसो हुनुमा यादव र ओलीबीचको सम्बन्ध नै प्रमुख कारण रहेको दुवै दलका नेताहरुको दाबी छ । अहिले राष्ट्रियसभामा एमालेलाई पनि साथमै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्तावमा यादवको पूर्ण समर्थन रहेको कुरा बाहिर आएको छ । बरु, एमालेसँग फुटेर नयाँ पार्टी जन्माएका माधव नेपाल भने एमालेलाई राष्ट्रियसभामा भाग दिने विषयमा भने रुष्ट छन् ।

राष्ट्रियसभाको निर्वाचनलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले एमाले, जसपा, रास्वपासहितको नयाँ गठबन्धन बनाउनपनि सक्ने चर्चा हुने गरेको छ । रास्वपा पनि सरकारमा सहभागी हुने चर्चा हुँदै आएको छ । रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुनेबारे यसअघि पार्टीको संसदीय र केन्द्रीय कमिटीको संयुक्त बैठक मधेश प्रदेशको जलेश्वरमा बस्नुअघि प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेटेर गरेको चर्चा छ ।

एमाले, माओवादी, रास्वपा र जसपा मिल्दापनि १४१ पुग्छ । सरकार गठनको लागि १३८ सांसद भए पुग्छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरुको प्रयास सफल भए प्रधानमन्त्री दाहालले कांग्रेसका मन्त्रीहरुलाई विदा गरेर अघि बढ्नपनि सक्ने आँकलन गरिएको छ । दाहालले सरकारको एक वर्ष पुगेको अवसरमा आफूले क्रमभंग गर्ने र बोल्ड डिसिजन लिने भनेर पनि बोलिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्