Logo

गभर्नर अधिकारीविरुद्धको रिटमा निलम्बनको फाइलसमेत पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं,१९ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि सरकारले निलम्बन गर्दाको फाइलसमेत पेश गर्न आदेश दिएको छ ।

अधिकारी गभर्नर हुन आवश्यक शैक्षिक योग्यता नपुगेको भन्दै अधिवक्ता दीपकराज जोशीसमेतले दायर गरेको रिटमा सो आदेश दिएको हो ।

गत शुक्रबार(१३ पुस)मा जारी भए पनि बिहीबार मात्रै सार्वजनिक भएको आदेशमा भनिएको छ, ‘गभर्नर पदमा आफूलाई निलम्बन गरेको सम्बन्धमा महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदन समेत साथै राखी नियम अनुसार पेश गर्नू ।’

सर्वोच्च अदालतले ९ माघ, २०८० मा मुद्दालाई पूर्ण सुनुवाइका लागि पेशी तोक्न आदेश दिँदै १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्मासँग टसल हुँदा सरकारले उनलाई गभर्नरबाट निलम्बन गरेको थियो । सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका अधिकारी सर्वोच्चको आदेशपछि काममा फर्किएका थिए ।

सर्वोच्च अदालतले उनको योग्यतामाथिको प्रश्नमा त्यही मुद्दाको फाइल झिकाउन आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot