काठमाडौं, १९ पुष । आम जनता पार्टीले शुरू गरेको भन्सार बिभागको घेराउ अझ सशक्त बनाउने भएकोछ । आम सम्पर्क मञ्चले भन्सारमा रहेको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरेको आज १९ दिन पुगेको छ । झण्डै चार महिनादेखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले शान्तिपूर्ण धर्नामाथी हस्तक्षेप गरिरहेकोले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प न रहेको आजपाका उपाध्यक्ष तिलक थपामगरले बताए । भन्सारको कमिशनको ठूलो रकम बालुवाटार त पुगेको छैन ? भन्ने थापामगरको प्रश्न छ ।
आफूहरुले भन्सारमा हुने लुटतन्त्रबारे ध्यानाकार्षण गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष यसअघि नै ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै आज आन्दोलनको १९ औं दिन आई सक्दापनि सरकारको जिम्मेवार निकायबाट कुनै प्रतिक्रिया नआउनुले यसमा सबै निकाय र माथिल्लो तहसम्म भन्सारको कमिशन पुग्ने गरेको निश्कर्ष निकालेको थापाको दाबी छ ।
आम सम्पर्क मञ्चले भन्सारमा कमिशनबाट पुरस्कृत हुने कर्मचारी र पुरस्कारको राशि सार्वजनिक गर्न माग गरेको छ । भन्सार घेराउको क्रममा आन्दोलनकारीहरुले “भन्सारमा ४५% रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न र भन्सार छली नियन्त्रणको नाममा प्रहरीद्वारा भईरहेको छिनछोर बन्द गर्न” माग गर्दै आएका छ्न ।
देशको आर्थिक संकट सुधारको लागि राजस्व चुहावट रोक्न जरुरी रहेको आजपाको भनाई छ । ‘यसरी पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५०% सिधै मन्त्री एवं उच्चपदस्थ कर्मचारीको खातामा जानु कुनै हिसाबले सही होइन ।’–थापाले भने,‘भन्सारमा भईरहेको भ्रष्टाचारजन्य कार्य रोक्न र सिमा क्षेत्रको जनताको मनोबल उठाउन गरिएको आन्दोलन झण्डै ४ महिना पुगिसक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दुःखद् हो । यस जनपक्षीय कार्यमा सबैको सहयोगको लागि विशेष अनुरोध गर्दछु ।’
आम सम्पर्क मञ्चले भन्सारको उक्त लुटकारी व्यवस्था खारेज नगरे छिट्टै तेस्रो चरणको आन्दोलन पनि घोषणा गर्ने तयारी गरेको छ । तेस्रो चरणको आन्दोलन भने भन्सार विभाग घेराउ देखी जिल्लाको भन्सार कार्यालयहरु बन्द गर्ने र कर्मचारीहरुलाई कार्यालय प्रवेशमा निषेध लगाउनेसम्मको हुने आजपाका नेताहरुको भनाई छ ।