Logo

भीम रावलको दाबी : नेपाललाई उपनिवेश बनाउन भारतको स्वार्थमा १० वर्षे जनयुद्ध



काठमाडौं, पुस २० । नेकपा (एमाले) का नेता डा. भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गरेका छन् । सामाजिक सञ्जालमा एकपछि अर्काे स्ट्याटस लेख्दै नेता रावलले दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौता नेपाललाई भारतको उपनिवेश बनाउने तयारीका रुपमा लिएका छन् ।

उनले १० वर्षे जनयुद्वसमेत भारतको स्वार्थमा भएको आरोप लगाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै बेला यो सम्झौता भएकाले कथित जनयुद्ध पनि भारतको स्वार्थमा भएको पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन, ”विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग भएको छ।नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौं!

यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन।यो षडयन्त्र देशको स्वाधीनता र समृध्दि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन!

लगत्तै उनले दोस्रो स्ट्याटसमा लेखेका छन, ”भारतले नेपालबाट १० बर्षमा १० हजार मेगावाट विद्युत् किन्ने भएकोले विदेशी लगानी ओइरिने भयो भनी जनता ठग्न प्रायोजित प्रचार गरिदै छ। यस्ता प्रचारकहरूले भारतले नेपालमा आफ्नो लगानी नभएका आयोजनाको विद्युत् नलिने निर्णय पहिल्यै गरिसकेको तथ्यमाथि पर्दा हाल्ने कुचेष्टा गरिरहेका छन्। भारतले अरू जो सुकैको लगानीमा नेपालमा उत्पादित विद्युत् किन्ने भनेको होइन।नेपालका नदीनाला आफै कब्जा गरी त्यहाँको बिजुली लिने भनेको हो। सरकारले सम्झौता तत्काल सार्वजनिक गरी यथार्थ नेपाली जनतालाई जानकारी गराओस्।

बंगलादेशसंग नेपालले विद्युत् बेच्न भारतीय भूभाग भएर प्रसारण लाइन बनाउनु पर्छ र त्यसबाट विद्युत् लैजान भारतको सहमति चाहिन्छ । यस्तो सहमति सम्झौताको कुन दफामा छ, स्पष्ट गर वाह्य शक्तिको स्वार्थमा मुरली बजाउनेहरू हो ।”



प्रतिक्रिया दिनुहोस्