Logo

प्रचण्डको प्रष्टीकरण: चीनका अधिकारीको भ्रमणबारे भारतीय विदेशमन्त्रीले एक शब्द उच्चारण गर्नुभएन



काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमणबारे आफूसँग कुनै कुरा नगरेको दाबी गरेका छन् ।

विदेशमन्त्री जयशंकर नेपाल आएकै दिन चिनियाँ प्रतिनिधिमण्डल आएपछि जयशंकर असन्तुष्ट बनेको समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उनले भारतीय विदेशमन्त्रीले सो विषयमा कुनै चासो नराखेको बताएका हुन् ।

“भारतीय विदेशमन्त्रीले चीनको प्रतिनिधिमण्डल आउनेबारे मसँग कुरा गरे भने सत्य हैन । एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन,” उनले भने, “मसँग अनौपचारिक वान टु वान कुरा हुँदा पनि यो विषयमा प्रश्न, चासो उहाँले राखेको हैन । प्रस्ट हुन अनुरोध गर्छु,यो गलत चर्चा हो ।”

बैठकमा त्यसअघि नेकपा एमालेका सांसद रघुजी पन्तले चीनका अधिकारी नेपाल आएको विषयमा भारतीय विदेशमन्त्रीले असन्तुष्टि पोखेको जिकिर गरेका थिए ।

“चीनको पदाधिकारी आएकोमा असन्तुष्टि उहाँ (एस जयशंकर) ले पोख्नुभयो । कूटनैतिक दृष्टिकोणले ठिक भएन,” उनले भने “नेपाल सार्वभौम भएकाले आउन पाउँछन् ।”

बिहीबार एकैदिन जयशंकर र चिनियाँ अधिकारी नेपाल भ्रमणमा आएका छन् । जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौं आएका हुन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ । चिनियाँ अधिकारीको भ्रमणबारे औपचारिक जानकारी गराइएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot