Logo

नबोलिकन काम फत्ते गर्ने परराष्ट्रमन्त्री साउद, जयशंकरको भ्रमणदेखि युएन महासचिवलाई नेपाल ल्याउन सफल



काठमाडौं, २० पुष । नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरेर भारतीय विदेशमन्त्री डा. एस जयशंकर आज स्वदेश फर्किएका छन् । हिजो (बिहीबार) दुई देशको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन् उनी नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरे । योसँगै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका जयशंकरले मधेशवादी दलका शीर्ष तीन नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र डा. सिके राउतसँग पनि सामूहिक भेटघाट गरे ।

जयशंकरको यसपटकको नेपाल भ्रमणमा राजनीतिक भेटघाटका अतिरिक्त नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको छ । जुन सम्झौताले नेपालको उर्जाले भारतीय विशाल बजारमा प्रवेश पाउने निश्चित् भएको छ । उर्जा क्षेत्रका जानकारहरूले त हिजो भएका चार सहमतिले नेपालको उर्जा क्षेत्रको विकासमा कायापलट हुने र देश छिट्टै समृद्धिको मार्गमा अघि बढ्ने दाबी गर्न थालेका छन् ।

नेपाल हाल जलविद्युतमा आत्मनिर्भर भईसकेको छ भने वर्षातको समयमा नेपालमा उत्पादित विद्युत खेर जाने अवस्था बनिरहेको थियो । अब भने वर्षातको समयमा उत्पादित विजुलीले भारतीय बजारमा सहज प्रवेश पाउने भएको छ । जसले गर्दा उर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक निजी क्षेत्रमा समेत खुसीयाली छाएको छ ।

बिहीबार नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । गत जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उक्त सहमतिपत्रको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो । प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो तेस्रो कार्यकालमा भारतसँग गरेको प्याकेज डिलले देशलाई दीर्घकालिन रुपमा फाईदा पुर्याएको टिप्पणी जनस्तरबाटै सुरु भएको छ ।

परराष्ट्रमन्त्री साउदको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय समकक्षी जयशङ्करको उपस्थितीमा दुई देशका ऊर्जा सचिवले उक्त सहमतिपत्र आदानप्रदान गरेका थिए । उक्त सहमतिसँगै नेपालले सहज रुपमा आफ्नो विद्युत उत्पादन भारतीय बजारमा पठाउने ढोका खुलेको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बिहीबार भएको सहमतिलाई उर्जामा ‘ब्रेक थ्रु’को संज्ञा दिएका छन् । उनले अब उक्त सहमतिको कार्यान्वयन पक्षलाई सबल बनाउन लागिपर्ने विश्वास दिलाएका छन् ।

चरम ऊर्जा सङ्कटबाट पार पाएर नेपाल पछिल्लो समउ ऊर्जा निर्यात गर्ने देशका रूपमा स्थापित भएको छ । नेपाल पछिल्लो एक वर्षमा दैनिक झण्डै सात सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सफल भएको छ । सरकारको सार्थक पहलका कारण ऊर्जा क्षेत्रले गुणात्मक फड्को मारिरहेको सन्दर्भमा बजारको सुनिश्चित्तासँगै लगानी विस्तार हुने निजी क्षेत्रको भनाइ छ ।
नेपाल र भारतबीचको यो ऐतिहासिक सम्झौतामा परराष्ट्रमन्त्री साउदको कार्यकुशलताले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको ९ महिनाको अवधिमा यी मात्र नभएर यसबाहेक केही अन्य महत्वपूर्ण निर्णय पनि भएका छन् । प्रधानमन्त्री प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनदेखि राष्ट्रसंघका महासचिव एण्टिनियो गुटेरेशको नेपाल भ्रमणमा समेत मन्त्री साउदको मूख्य भूमिका छ ।

साउदले मन्त्री बनेपछिको छोटो समयमा मन्त्रालयमा देखिनेगरी गरेको कामले पार्टी र बाहिर पनि प्रशंसा पाईरहेको छ । गत अक्टोबरमा इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणपछि साउदकै सक्रियतामा त्यहाँ रहेका नेपाली कामदारलाई स्वदेश फर्काईएको थियो । आक्रमणमा ज्यान गुमाएका १० जनाको शव नेपाल ल्याउनमा पनि साउदले महत्वपूर्ण भूमिका खेलका थिए ।

घटनापछि बेपत्ता कञ्चनपुरका विपीन जोशीको रिहाइका लागि विभिन्न राष्ट्रसँग निरन्तर पहल गरिरहेका छन् । इजराईलबाट आफ्ना नागरिकको उद्धार गर्ने देशहरुमा नेपाल पहिलो हो । मन्त्री साउद रेस्क्यु–फ्लाईटको लागि आँफै इजराल पुगेका थिए । नेपाल वायु सेवा निगमको जहाज लिएर पुगेका साउदले सो रेस्क्यु फ्लाईटमार्फत २५३ जना नेपालीहरुलाई स्वदेश ल्याएका थिए । उनको उक्त कदमको चौतर्फी प्रशंसा भएको थियो ।

मन्त्री साउदले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धका हकमा पनि महत्वपूर्ण पहलकदमी लिएका छन् । यसअघि बेलाबेला अन्तर्राष्ट्रिय सम्बन्ध तनावयुक्त भएको देखिन्थ्यो । छिमेकी मुलुकसहित अन्य मुुलुकसँग पनि आन्तरिक राजनीतिक खपतका लागि ज्यादा विवाद र बहस देखिन्थ्यो । तर, अहिले एक वर्षमा अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापक सुधार आएको मन्त्री साउदले दाबी गरेका छन् । भारतसँगको मित्रता थप सुदृढ भएको छ । चीनसँग पनि सुमधुर सम्बन्ध कायम छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण पनि सफल भएको छ ।

मन्त्री साउद यस अवधिमा संयुक्त राज्य अमेरिका, कतारको दोहा सम्मेलन, मानवाधिकारको ७५औँ वर्षका अवसरमा जेनेभामा आयोजित सम्मेलनमा सहभागिता जनाएका छन् । भ्रमणमा नेपालको प्रस्तुतिले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परिपक्वताका साथ अघि बढ्न खोजेको सन्देश प्रवाह भएको छ । मन्त्री साउदकै निमन्त्रणामा र सक्रियतामा भर्खरैमात्र श्रीलङ्काका विदेशमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका थिए ।

शिष्टाचार भेट काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

मन्त्री साउदले रूसी सेनामा कार्यरत नेपाली र रूस–युक्रेन युद्धले पुर्याएको प्रभावबारे पनि गम्भीर रुपमा छलफल थालेका छन् । उनले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) को प्रबन्धसमेत गरिसेका छन् । रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन पहल गरिरहेका छन् । मन्त्री साउद कम बोल्न रुचाउँछन् । तर, नबोलिकन कतिपय महत्वपूर्ण काम फत्ते गरेका छन् । उनको राजनीतिक छवि पनि स्वच्छ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot