Logo

मालिका घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुग्यो



म्याग्दी, पुस २२ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।

प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो । हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् । चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन्। बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot