Logo

कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने



जानकी (बाँके), २२ पुस । बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताएका हुन् ।

नेपालगञ्जमा यातायात कार्यालय हुँदा समय र दूरीका कारण जनतालाई मर्का परेको जनाउँदै उनले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताए । “नेपालगञ्जमा यातायात कार्यालय भए पनि कोहलपुरमा चालक अनुमतिपत्रको एउटा शाखा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल सुरु भइसकेको छ”, उनले भने, “कोहलपुरमा यातायातको एउटा शाखा जनताको आवश्यकता भएको हुनाले यहाँ एउटा शाखा स्थापना हुन्छ, त्यसका लागि नगरपालिकाले ठाउँको व्यवस्थापन गर्ने तयारी गर्दा हुन्छ ।”

कोहलपुर नगरपालिकाले निर्माण गरेको दृश्यावलोकन स्तम्भ र नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापनका विषयमा सर्वपक्षीयरुपमा गरिएको सुझाव सङ्कलन कार्यक्रममा मन्त्री केसीले भौतिक संरचना निर्माण गर्दा दीर्घकालीन योजनाका साथ बनाउनुपर्ने उल्लेख गर्दै संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “संरचना बन्नु आफैँमा नराम्रो होइन, तर कालान्तरमा त्यसको प्रतिफल कस्तो रहन्छ भन्ने कुरामा विचार गरेर मात्र यस्ता संरचनाको निर्माण गरिनुपर्छ ।” कोहलपुरमा अत्याधुनिक बसपार्क र दृश्यावलोकन स्तम्भको संरचना तयार भइसकेकाले त्यसलाई सञ्चालनमा ल्याउन सबैको भूमिका महत्पूर्ण रहने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot